सिमावर्ती बेलौरीका विद्यार्थीलाई मानव बेचबिखन र अनलाइन यौन दुर्व्यवहार नियन्त्रणबारे माईती नेपालद्वारा अनुशिक्षण

मंगल जोशी/बेलौरी । मानव बेचबिखन, बाल यौन शोषण तथा अनलाइन यौन दुर्व्यवहारविरुद्ध निरन्तर सचेतना फैलाउँदै आएको माईती नेपाल कञ्चनपुरले सिमावर्ती क्षेत्र बेलौरीमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै महत्वपूर्ण अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

माईती नेपाल कञ्चनपुरले बाल संरक्षण, अनलाइन बाल यौन दुर्व्यवहार, प्रजनन स्वास्थ्य तथा अधिकार, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी विषयमा बेलौरी नगरपालिका- ८ कलकत्ता स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई अनुशिक्षण प्रदान गरेको हो ।

कञ्चनपुर जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्र बेलौरी तथा कलकत्ता मानव बेचबिखनको उच्च जोखिममा रहेको भन्दै त्यस क्षेत्रका किशोर-किशोरीलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत ९१ जना विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई अनुशिक्षण प्रदान गरिएको हो ।

“सिमावर्ती क्षेत्रबाट मानव बेचबिखन र बाल यौन शोषणका घटनाहरु क्रमशः बढ्दै गएको सूचना प्राप्त भएपछि बेलडाँडीदेखि बेलौरीसम्मका नागरिकलाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरेका हौँ,” संयोजक भट्टले बताउनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले मानव बेचबिखन, बाल यौन शोषण तथा अनलाइन यौन दुर्व्यवहार सम्बन्धी विषयहरु आफूहरुका लागि नयाँ र उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले सिकेका कुराहरु व्यवहारमा उतार्दै आफ्ना समुदायमा समेत सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थीले माईती नेपालले विद्यालयमै आएर यस्ता संवेदनशील विषयमा अनुशिक्षण प्रदान गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि माईती नेपालसँग समन्वय र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

मानव बेचबिखन रोकथाम, बाल अधिकार संरक्षण र सुरक्षित समाज निर्माणका लागि माईती नेपालले गर्दै आएको निरन्तर प्रयास सिमावर्ती क्षेत्रका विद्यार्थी तथा समुदायका लागि आशाको किरण बनेको स्थानीयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित