कञ्चनपुर । महेन्द्रनगरस्थित खुल्ला मञ्चमा सञ्चालन भइरहेको सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव (घुसुडी महोत्सव) २०८२ ले दिनप्रतिदिन दर्शकको अपार माया पाइरहेको छ । गत पौष २९ गतेदेखि सुरु भएको महोत्सवको पाँचौँ दिन आजसम्मकै सबैभन्दा धेरै दर्शकको उपस्थिति देखिएको छ ।
मंगलबार विधिवत् रूपमा उद्घाटन भएको महोत्सवको पाँचौँ दिन शनिबार परेकाले तथा चर्चित मोडेल तथा कलाकार पल शाहको आगमनका कारण दर्शकको भीड आयोजकको अपेक्षाभन्दा कैयौँ गुणा बढी भएको थियो । दर्शकको अत्यधिक चापका कारण केही समय टिकट वितरणमा समस्या आउँदा कतिपय दर्शक टिकट नपाएर आधा बाटोबाटै फर्किन बाध्य भए । भीड व्यवस्थापनमा कठिनाइ आएपछि केही दर्शकले घेराबार तोडेर भित्र प्रवेश गरेको दृश्य समेत देखिएको थियो, जसले महोत्सवप्रतिको जनआकर्षणलाई प्रस्ट पारेको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिमका सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गर्नुभएको हो ।
भीमदत्त नगर उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघ सुदूरपश्चिमको संयुक्त आयोजनामा सञ्चालनमा आएको यस महोत्सव १३ दिनसम्म चल्नेछ । महोत्सवमा देशभरका ख्यातिप्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै, विभिन्न जिल्लाबाट आएका व्यापारीहरूले स्थानीय उत्पादनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सामग्रीको प्रदर्शनी तथा बिक्री गरिरहेका छन् ।
थारु गाउँ, बाल उद्यान, कृषि प्रदर्शनी, खानाका परिकार र मनोरञ्जनात्मक स्टलहरू महोत्सवका मुख्य आकर्षण बनेका छन् । यी आकर्षणले दर्शकलाई भरपूर मनोरञ्जन दिएको आयोजक टिमको भनाइ छ ।
भीमदत्त नगर उद्योग वाणिज्य संघका अध्यक्ष सौभाग्य विक्रम थापाको सभापतित्वमा सञ्चालन भइरहेको महोत्सवले सुदूरपश्चिमको पहिचान, उत्पादन र संस्कृतिलाई एकै थलोमा उजागर गर्न सफल भएको भन्दै दर्शकले यसलाई ‘मिठो, व्यवस्थित र आकर्षक महोत्सव’को संज्ञा दिएका छन् ।























Discussion about this post