बेलडाँडी । बेलडाँडी गाउँपालिका-३, कमरी निवासी भैंसीपालक किसान हरकिशन रानाको रहस्यमय मृत्यु भएको आज ९ महिना पूरा भएको छ । घटना भएको ९ महिना बितेर १० महिना लाग्न लाग्दा पनि मृत्युको सत्य-तथ्य सार्वजनिक हुन सकेको छैन । पीडित परिवार अझै न्यायको पर्खाइमा छन् ।
गत वैशाख ८ गते घरमा सुतेका राना बैशाख ९ गते एकाबिहानै, बेलौरी नगरपालिका-१० स्थित निर्मल आर्यघाट नजिकै तोरिको भुसामाथि जलेको अवस्थामा रानाको शव मोटरसाइकलसहित फेला परेको थियो । सुरुदेखि नै शंकास्पद देखिएको यस घटनाले गाउँमा त्रास, अविश्वास र अनेक अड्कलबाजी फैलाएको थियो ।
परिवारजन र स्थानीय बासिन्दाले रानाको मृत्यु सामान्य घटना हुन नसक्ने भन्दै निरन्तर प्रश्न उठाउँदै आएका छन्। घटनास्थलको अवस्था, समयको अनिश्चितता र परिस्थितिको जटिलताले यस घटनालाई झन् रहस्यमय बनाएको स्थानीयको भनाइ छ।
अनुसन्धानका लागि प्रहरी प्रशासनले अनुभवी अधिकृतहरूको टोली परिचालन गरेको थियो। घटनास्थलको सूक्ष्म अध्ययन, शव परीक्षण, मोबाइल लोकेसन ट्रेसिङ, कल डिटेल्स, प्रत्यक्षदर्शीका बयान तथा डिजिटल प्रमाणको विश्लेषण गरिएको बताइए पनि अहिलेसम्म ठोस निष्कर्ष सार्वजनिक हुन सकेको छैन।
घटना भएको ९ महिना बितिसक्दा अनुसन्धान कहाँ पुग्यो भन्ने विषयमा बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जय पार्कीले घटना अझै अनुसन्धान प्रक्रियामै रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न कोणबाट अनुसन्धान भइरहेको भए पनि हाल नै निष्कर्ष सार्वजनिक गर्न नसकिने अवस्था रहेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र इलाका प्रहरी कार्यालय बेलडाँडीले संयुक्त रूपमा अनुसन्धान गरेका थिए। मृत्युको कारण पत्ता लगाउन विभिन्न विधि अपनाइए पनि केही विधि विज्ञान प्रयोगशालाका प्रतिवेदन अझै पूरा भइनसकेको जनाइएको छ।
हालसम्म घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको भए पनि कसैलाई थुनामा राखेर अनुसन्धान गरिएको छैन। प्रहरी प्रशासनले प्रमाण, तथ्य र विज्ञानमा आधारित निष्कर्ष सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
तर मृतकका परिवार र स्थानीय बासिन्दामा अनुसन्धानप्रति गम्भीर आशंका बढ्दै गएको छ। उनीहरू घटनामा राजनीतिक प्रभाव र चलखेल भएको हुनसक्ने आशंका व्यक्त गर्दै निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरिरहेका छन्।
मृतक रानाकी छोरी लक्ष्मी रानाले घटना लामो समयसम्म अज्ञात रहनु राजनीतिक प्रभावकै परिणाम हुनसक्ने शंका व्यक्त गर्नुभयो। उनका छोरा भुवन रानाले दोषी पत्ता लाग्ला र न्याय पाइएला भन्ने आशा क्रमशः मर्दै गएको गुनासो गर्नुभयो। “हामीले आग्रह गरेका ठाउँमा अनुसन्धान नै भएन कि राजनीतिक दबाबमा प्रहरी पछि हट्यो, बुझ्न सकेका छैनौँ,” उहाँले भन्नुभयो।
घटना एक वर्ष पुग्न लाग्दा पनि बुवासँग सम्बन्धित बीमा तथा अन्य प्रक्रिया रोकिएको छ। “बुवा भैंसीपालक किसान हुनुहुन्थ्यो। दुःख गरेर परिवार पाल्नुहुन्थ्यो र हामीलाई पढाउनु हुन्थ्यो। अहिले उहाँ नहुँदा घरखर्चदेखि जीवनका हरेक समस्या सामना गर्नुपरेको छ,” परिवारको पीडा छ।
पीडित परिवारले बुवाको आत्मशान्तिका लागि सत्य–तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
स्थानीय बासिन्दाहरू भन्छन्, “समय लागोस्, तर सत्य लुकेर नबसोस्।”
हरकिशन रानाको मृत्युले एउटा परिवार मात्र होइन, सम्पूर्ण समाजमा शोक र सन्देहको गहिरो छाया छोडेको छ । गरिखाने वर्ग घरमा सुतेको मान्छे एकाएक ५,६ किलोमिटर टाढा अचानक जलेको देख्दा असुरक्षाको भावना बढाएको यो घटनामा अब सबैको ध्यान प्रहरी प्रशासनको निष्कर्षतर्फ केन्द्रित भएको छ ।
सत्य के हो ? त्यो छिट्टै सार्वजनिक होस्, दोषी उम्कन नपाओस् र पीडित परिवारले न्याय पाओस् यही स्थानीयको साझा अपेक्षा हो।























Discussion about this post