शिक्षा विकासका लागि कमल मन्दिरदेखि कक्षा कोठासम्म : बहाई समाजको शैक्षिक यात्रा सम्पन्न

बेलडाँडी । बहाई समाज कञ्चनपुरले कञ्चनपुर क्षेत्र नं. १ का विभिन्न पालिकाका जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला तथा प्रशासकीय नेतृत्वलाई समेट्दै भारतको दिल्लीमा शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

क्षेत्रको शिक्षा विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यले १२ देखि १७ गते सम्म आयोजना गरिएको उक्त भ्रमणमा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षक, प्रधानाध्यापक, शिक्षा शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बहाई समाजले दिल्लीका सरकारी विद्यालयहरूमा भइरहेको शैक्षिक अभ्यास, गुणस्तरीय शिक्षाका विधि तथा नविन शिक्षण पद्धतिहरूको प्रत्यक्ष अध्ययन गराउने उद्देश्यले यो भ्रमण आयोजना गरेको जनाएको छ ।

अवलोकन भ्रमणका क्रममा सहभागीहरूले दिल्लीका विभिन्न सरकारी विद्यालयहरूको अध्ययन गर्नुका साथै त्यहाँ प्रयोग भइरहेका शिक्षण-सिकाइ विधि, व्यवस्थापन प्रणाली तथा विद्यार्थी केन्द्रित अभ्यासबारे जानकारी लिएका थिए । साथै, उता प्रदान गरिने शिक्षा र हाम्रो देशमा प्रदान गरिने शिक्षाबीचको भिन्नता, सम्भावना र सुधारका क्षेत्रबारे आपसी अनुभव आदान-प्रदान गरिएको थियो ।

शैक्षिक अवलोकनसँगै भ्रमण टोलीलाई भारतका सदियौँ पुराना ऐतिहासिक तथा धार्मिक सांस्कृतिक धरोहरहरूको पनि अवलोकन गराइएको थियो । आग्रास्थित ताजमहल, दिल्लीको कुतुब मिनार, अक्षरधाम, प्रेम मन्दिर, गान्धी स्मृति स्थललगायतका स्थानहरूको भ्रमणले सहभागीहरूलाई इतिहास, संस्कृति र मानवीय मूल्यबारे थप बुझ्न सहयोग पु¥याएको सहभागीहरूको भनाइ छ ।

बहाई समाजले दिल्लीको चर्चित कमल मन्दिरमा बसोबासको व्यवस्थाका साथै सिकाई आदान प्रदान केन्द्रका रुपमा मिलाएको थियो । विश्व शान्ति, एकता र मानवताका सन्देश बोकेको कमल मन्दिरको बसाइले भ्रमणलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताए ।

भ्रमणमा सहभागी जनप्रतिनिधि तथा शिक्षाकर्मीहरूले यो भ्रमण केवल शैक्षिक अवलोकनमा सीमित नभई बौद्धिक र वैचारिक विकासमा समेत सहयोगी भएको बताएका छन् । शिक्षा क्षेत्रमा सुधार ल्याउन अपनाउन सकिने नयाँ विधि, शिक्षकको भूमिकालाई अझ प्रभावकारी बनाउने उपाय, बालबालिकालाई सिकाइप्रति कसरी प्रेरित गर्ने भन्ने विषयमा भ्रमण र सिकाई आदान प्रदानले सकारात्मक सोच विकास गराएको उनीहरूको भनाइ छ ।

बहाई समाजले शिक्षा मार्फत समाज रूपान्तरण गर्ने लक्ष्यका साथ यस्ता शैक्षिक भ्रमण, प्रेरणामूलक कार्यक्रम, नैतिक शिक्षाका अभ्यास तथा सिकाइलाई बलियो बनाउने विविध गतिविधि गर्दै आएको पनि सहभागीहरूले उल्लेख गरेका छन् । बालबालिकामा अनुशासन, नैतिकता, सहकार्य र जिम्मेवारीको भावना विकास गराउन बहाई समाजले खेलेको भूमिकाको प्रशंसा समेत गरिएको छ ।

उक्त शैक्षिक अवलोकन भ्रमणमा कञ्चनपुरका बेलौरी, पुनर्वास, लालझाडी र बेलडाँडी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो ।

लामो समयसम्म सम्झन लायक यो शैक्षिक अवलोकन भ्रमणले सहभागीहरूलाई नयाँ दृष्टिकोण, प्रेरणा र अनुभव दिएको भन्दै यसले आगामी दिनमा स्थानीय तहको शिक्षा सुधारमा ठोस योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित