१५ वर्षपछि पुनर्वासमा महोत्सवको रौनक: ‘हाम्रो पुनर्वास राम्रो पुनर्वास’ नारासहित भोलिदेखि भव्य मेला

कञ्चनपुर: कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा लामो प्रतीक्षापछि पुनः महोत्सवको रौनक फर्किएको छ। ‘हाम्रो पुनर्वास, राम्रो पुनर्वास’ मूल नारासहित ६५ विगाह क्षेत्रफल रहेको आईबिआरडी मैदानमा भोलि फागुन २५ गतेदेखि पुनर्वास महोत्सव भव्य रूपमा सञ्चालन हुने भएको छ।

पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राज कुमार राईमाझी ले मञ्च, स्टल, प्रवेशद्वार तथा अन्य संरचना निर्माणलगायत सबै तयारी सम्पन्न भइसकेको जानकारी दिए।

उनका अनुसार पुनर्वास नगरपालिका, ओम श्री डेन्टल, भागेश्वर चिनी उद्योग लगायत सरकारी तथा निजी क्षेत्रको सहकार्यमा महोत्सव आयोजना गरिएको हो। पुनर्वास क्षेत्रमा करिब डेढ दशकपछि दोस्रोपटक महोत्सव हुन लागेको अध्यक्ष राईमाझीले बताए।

उनले भने, “यस क्षेत्रको कृषि, पर्यटन, धार्मिक र सामाजिक सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ। महोत्सवमार्फत पुनर्वासको ऐतिहासिक तथा प्राकृतिक सम्पदा प्याराताल को अवलोकन गराई प्रचार-प्रसार गर्ने लक्ष्य छ।”

महोत्सवमा करिब ११५ वटा स्टल रहनेछन्, जहाँ विभिन्न व्यवसायिक सामग्रीदेखि घरेलु उद्यम, कृषि उत्पादन तथा स्थानीय मौलिक परिकार प्रदर्शन गरिनेछ। पश्चिम नेपालका थारु समुदाय को विशेष सांस्कृतिक स्टलसमेत रहने आयोजकले जनाएको छ।

महोत्सव अवलोकनका लागि साधारण टिकट १०० रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ तथा सिजनल पासको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकलाई विशेष सहुलियत दिइनेछ। मेलाभित्र बाल उद्यानको व्यवस्था गरिनुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहनेछ।

संघका वरिष्ठ उपाध्यक्ष भरत विष्टले महोत्सवमार्फत पुनर्वास क्षेत्रको प्राकृतिक, धार्मिक र सांस्कृतिक पहिचान उजागर गर्ने उद्देश्य रहेको बताए। उनले सीमावर्ती क्षेत्रका सहिद गोविन्द गौतमको साहसिक योगदानलाई स्मरण गर्ने कार्यक्रम पनि समावेश गरिने जानकारी दिए।

महोत्सवको उद्घाटन सोमबार दिउँसो वीर बहादुर थापा (पातल) को प्रमुख आतिथ्यतामा हुने कार्यक्रम तय गरिएको छ।

संघका महासचिव दाउत तामाङले महोत्सवमा करिब डेढ लाख दर्शकले अवलोकन गर्ने र लाखौँ रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको बताए। उनका अनुसार धनगढी र महेन्द्रनगर जस्ता ठूला सहरमा मात्रै सीमित हुने महोत्सवको माहोललाई यसपटक दक्षिणी क्षेत्र पुनर्वासमै ल्याउने प्रयास गरिएको हो।

चैत ५ गतेसम्म सञ्चालन हुने महोत्सवले पुनर्वास क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। प्रतिनिधि सभा निर्वाचनका कारण केही समय सरेको महोत्सव अब भोलिदेखि औपचारिक रूपमा सुरु हुने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित