किशोर तामाङ/कञ्चनपुर, पुनर्वास। “हाम्रो पुनर्वास, राम्रो पुनर्वास” भन्ने मूल नारासहित कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजना गरिएको पुनर्वास महोत्सव २०८२ सभ्य र भव्य रूपमा सुरु भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा व्यापारिक गतिविधि विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले सुरुदेखि नै दर्शकहरूको उल्लेखनीय सहभागिता प्राप्त गरेको छ।
महोत्सवको दोस्रो दिन हजारौं दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको आयोजकले जनाएको छ। महोत्सव स्थलमा आयोजित सांगीतिक कार्यक्रम, व्यापारिक स्टल, सांस्कृतिक झाँकी तथा मनोरञ्जनात्मक गतिविधिहरूले वातावरणलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको छ।
दोस्रो दिनको कार्यक्रम विशेष गरी सांगीतिक प्रस्तुतीका कारण थप आकर्षणको केन्द्र बनेको थियो। लोकप्रिय गायक टेक बि.सि. र कृष्ण बि.क.ले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरू नाचगान गर्दै रमाएका थिए। कलाकारहरूको जोशिलो प्रस्तुती र दर्शकहरूको उत्साहले महोत्सव स्थल साँच्चिकै सांगीतिक माहोलले भरिएको देखिन्थ्यो।
महोत्सवको मुख्य उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन, थारू समुदायलगायत विभिन्न जातजातिको संस्कृति संरक्षण तथा स्थानीय उत्पादनको बजार विस्तार गर्नु रहेको आयोजकले जनाएको छ। महोत्सव परिसरमा थारू समुदायको मौलिक संस्कृतिलाई झल्काउने थारू होमस्टे अवधारणा, विभिन्न व्यापारिक स्टल, स्थानीय परिकार, हस्तकला तथा कृषि उत्पादनको प्रदर्शनी राखिएको छ। साथै, बालबालिकादेखि वयस्कसम्मलाई मनोरञ्जन दिने विभिन्न खेलकुद तथा रमाइलो मेला पनि सञ्चालन गरिएको छ।
पुनर्वास उद्योग वाणिज्य संघका कोषाध्यक्ष देवी भट्ट का अनुसार महोत्सवको दोस्रो दिन मात्रै करिब डेढ हजारभन्दा बढी दर्शकहरूले अवलोकन गरेका छन्। आगामी दिनहरूमा चर्चित कलाकारहरूको प्रस्तुती हुने भएकाले अझ बढी दर्शकहरूको सहभागिता रहने अनुमान गरिएको उनले बताए।
उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष राजकुमार रायमाझीले महोत्सव स्थलमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको बताउँदै महोत्सव अवधिभर करिब एक लाख पचास हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिए। उनका अनुसार यस महोत्सवले स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूलाई आफ्ना उत्पादन प्रचारप्रसार गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
महोत्सवको तेस्रो दिन पनि विविध सांगीतिक कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ। भोलि हुने कार्यक्रममा चर्चित कलाकार लालबहादुर धामी (अछामी बड्डो), चर्चित गायिका सोनु कुश्मी, लक्ष्मी राना, मोडल तथा नृत्यतर्फ अनु खड्का लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहनेछ।
महोत्सव अवधिभर सांस्कृतिक झाँकी, व्यापारिक स्टल, स्थानीय उत्पादनको प्रदर्शनी, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सांगीतिक प्रस्तुतीहरू निरन्तर सञ्चालन हुनेछन्। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै क्षेत्रीय पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकको विश्वास छ।
पुनर्वास क्षेत्रको पर्यटन, संस्कृति र व्यापारलाई राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्यका साथ आयोजना गरिएको पुनर्वास महोत्सव २०८२ लाई सफल बनाउन स्थानीयवासी, व्यवसायी तथा विभिन्न संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको छ। आयोजकले महोत्सव अवलोकन गर्न सम्पूर्ण दर्शक तथा पर्यटकलाई आमन्त्रण समेत गरेको छ।






















Discussion about this post