सुदूरपश्चिममा लगानीको वातावरण बनाउन जोड, पर्यटन र कृषि क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने सुझाव

धनगढी । सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । धनगढीमा जारी ‘सुदूरपश्चिम कचहरी-२०८३’ अन्तर्गत आइतबार दोस्रो दिन आयोजित कार्यक्रममा संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने भन्दै लगानी भित्र्याउन प्रदेश सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकाल ले सुदूरपश्चिम प्रदेशमा पर्यटन, कृषि, जडीबुटी तथा सम्पदाको ठूलो सम्भावना भए पनि लगानीका दृष्टिले अझै उपेक्षित रहेको बताए ।

उनले सुदूरपश्चिमलाई अत्यन्त सम्भावनायुक्त क्षेत्रको रूपमा उल्लेख गर्दै पर्यटन र जडीबुटी क्षेत्रमा विशेष अवसर रहेको बताए । चिसापानी क्षेत्रमा ठूलो केबुलकारसहितको आयोजना सञ्चालनको अन्तिम तयारी भइरहेको जानकारी दिँदै उनले निजी क्षेत्र आकर्षित गर्न सरकारको स्पष्ट नीति आवश्यक रहेको बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले सरकारको नीति, स्थायित्व र प्रतिफलको आधारमा मात्रै निजी क्षेत्रको लगानी आउने बताए । उनले सुदूरपश्चिममा पर्याप्त सम्भावना भए पनि लगानीकर्तालाई आकर्षित गर्न सरकारीस्तरबाट थप सहुलियत र विश्वासको वातावरण आवश्यक रहेको धारणा राखे ।

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमका सदस्य नृपबहादुर सुनार ले सुदूरपश्चिम पर्यटन, कृषि, प्राकृतिक स्रोत र सम्पदाले धनी प्रदेश भएकाले ती सम्भावनालाई नीति, कार्यक्रम र बजेटमार्फत कार्यान्वयनमा लैजानुपर्ने बताए ।

सुदूरपश्चिम विकास फाउण्डेसन को आयोजनामा भइरहेको ‘सुदूरपश्चिम कचहरी’ कार्यक्रममा ‘प्रदेशसभा सदस्यसँग विशेष संवाद’ शीर्षकमा सुदूरपश्चिमको विकास, दीर्घकालीन एजेण्डा र नीतिनिर्माणका विषयमा समेत छलफल गरिएको थियो ।

छलफलमा सहभागीहरूले राजनीतिक नेतृत्व प्रभावकारी ढङ्गले अघि बढ्न नसक्दा सुदूरपश्चिम अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी गरेका थिए । नेकपा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट, सामाजिक विकास समितिका सभापति धर्मराज पाठक तथा नेपाली कांग्रेसकी सांसद रक्षा महरा ले प्रदेशको विकास र समृद्धिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।

यसअघि शनिबार भएको पहिलो दिनको कार्यक्रममा पनि सुदूरपश्चिमको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य गर्दै निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई सहभागी गराउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

प्रदेश सरकारका प्रमुख सचिव वैकुण्ठ अर्याल ले विकास आयोजना निर्माणमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा जीवन राना ले रामारोशन, खप्तड र बडिमालिकालाई पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिने बताइन् ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापा ले गड्डाचौकी–अत्तरिया–चिसापानी सडक खण्डलाई चार लेनमा विस्तार गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित