बेलडाँडी । बेलडाँडी गाउँ खेलकुद विकास समितिको आयोजनामा प्रथम बेलडाँडी गाउँपालिका स्तरीय सन्ध्याकालीन खुला भलिबल प्रतियोगिता आगामी जेठ २० गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता जेठ २२ गतेसम्म सञ्चालन हुने र खेलहरू प्रत्येक दिन साँझ ६ बजेदेखि बेलडाँडी गाउँ कार्यपालिकाको कार्यालय परिसरको पूर्वपट्टि रहेको भलिबल मैदानमा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन जेठ २० गते साँझ ५ बजे गरिने तयारी रहेको बेलडाँडी गाउँ खेलकुद विकास समितिका उपाध्यक्ष गणेशबहादुर विष्टले जानकारी दिए । उनका अनुसार खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता प्रतियोगिताले गाउँपालिकामा खेल संस्कृतिको विकास र प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास लिइएको छ ।
समितिका अध्यक्ष डम्मरबहादुर सुनारले बेलडाँडीमा पहिलोपटक सन्ध्याकालीन भलिबल प्रतियोगिताको अभ्यास सुरु गरिएको बताउँदै यसले खेलप्रेमीहरूमा नयाँ उत्साह थप्ने अपेक्षा व्यक्त गरे । उनले आगामी दिनमा खेलकुद गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने योजनासमेत रहेको बताए ।
प्रतियोगितामा सहभागी हुन खेलाडीहरूले सहभागिताको पत्रसहित बेलडाँडी गाउँपालिकाको स्थायी ठेगाना खुल्ने कागजात पेश गर्नुपर्नेछ । यद्यपि बेलडाँडीभित्र सञ्चालनमा रहेका कार्यालय तथा संघसंस्थाका टोलीका लागि बाहिरी खेलाडी सहभागी गराउन सकिने व्यवस्था गरिएको छ । प्रत्येक टोलीमा अधिकतम ९ जना खेलाडी मात्र समावेश गर्न पाइनेछ ।
टोली दर्ताको अन्तिम मिति जेठ १८ गते आज साझ कार्यालय समयभित्र तोकिएको छ । दर्ता बेलडाँडी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा गर्न सकिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । पुरस्कार रकममा प्रचलित नियमानुसार कर कट्टी गरिने जनाइएको छ ।
बेलडाँडीमा पहिलोपटक आयोजना हुन लागेको यस सन्ध्याकालीन प्रतियोगिताले खेलप्रेमी दर्शक र युवाहरूमा उत्साह थप्नुका साथै गाउँपालिकाको खेलकुद विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।






















Discussion about this post