काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका हात्तीका दाह्रासहित पाँच जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दाह्रा चोरी तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा उनीहरूलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखा धार्चे–४ लाप्राक घर भई मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडी डिलासैनी–३ घर भई टोखा–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा तथा गोरखा अजिरकोट–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।
प्रहरीका अनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री गर्न लागेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा राजिव, आयुष र टेकले हात्तीका दाह्रा टुक्रा पारेर राजिवको घर नजिकैको खाली जग्गामा गाडेर राखेको खुलेको छ। राजिवको घरबाट दुई टुक्रा हात्तीका दाह्रा र १५० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि सोधपुछ गर्दा पुरन बोहराको समेत संलग्नता खुलेपछि उनलाई नियन्त्रणमा लिइएको थियो। पुरनले दिएको जानकारीका आधारमा सन्तबहादुर भुजेलको कोठाबाट थप दुई टुक्रा हात्तीका दाह्रा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद दाह्रा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका हुन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड तथा आगजनी हुँदा भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको हो।
चोरी भएको करिब नौ महिनापछि दाह्रासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुर तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।






















Discussion about this post