डोटीको शिखर नगरपालिका–६ चुडी गाउँमा जन्मिएकी ४४ वर्षीया निर्मला कुमारी फुलारा सुदूरपश्चिम प्रदेशबाट ‘डिभिजनल वन अधिकृत’ (उपसचिव) बन्ने पहिलो महिला बनेकी छन्। सामान्य किसान परिवारमा हुर्किएकी निर्मलाले आमाको प्रेरणा र आफ्नो अथक मेहनतका बलमा यो सफलता हासिल गरेकी हुन्।
कक्षा ८ मा पढ्दै गर्दा विवाहको प्रस्ताव आए पनि आमाबुवाले पढाइलाई प्राथमिकता दिएका थिए। विवाहपछि पनि उनले पढाइलाई निरन्तरता दिँदै आइएससी फरेस्ट्री, बीएससी फरेस्ट्री र एमएससीसम्मको अध्ययन पूरा गरिन्। दुई सन्तानको स्याहार, घरपरिवार र जागिरसँगै लोकसेवा आयोगको तयारी गर्दै उनले २०६५ सालमा रेन्जर पदमा नाम निकालिन्। त्यसबेला उनी सुदूरपश्चिमबाट रेन्जर बन्ने पहिलो महिला थिइन्।
निरन्तर अध्ययन र मेहनतका कारण उनी २०७४ सालमा वन सेवाको अधिकृत बनिन् भने हालै लोकसेवा आयोगको परीक्षाबाट उपसचिव पदमा बढुवा भई सुदूरपश्चिमकी पहिलो महिला डिभिजनल वन अधिकृत बन्न सफल भएकी छन्। निर्मलाले सफलता हासिल गर्न सामाजिक सञ्जालमा समय खर्च नगरी अध्ययन, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिएको बताएकी छन्।























Discussion about this post