कञ्चनपुर । कञ्चनपुरको उत्तरी दुर्गम बस्ती खल्लामछेट्टीका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगदसहित शैक्षिक सामग्री वितरण गरिएको छ। महेन्द्रनगरस्थित ‘हाम्रो भोजनालय’ले सामाजिक उत्तरदायित्व अन्तर्गत भीमदत्त नगरपालिका-९ खल्लामछेट्टीका दलित, आदिवासी जनजाति तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई उक्त सहयोग प्रदान गरेको हो।
शनिबार आयोजित कार्यक्रममा भीमदत्त आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय र बैजनाथ आधारभूत विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीलाई जनही पाँच सय रुपैयाँ नगद, कापी तथा कलम वितरण गरिएको जनाइएको छ।
हाम्रो भोजनालयका सञ्चालक तथा समाजसेवी चक्रप्रसाद मिश्रले दुर्गम क्षेत्रका विपन्न बालबालिकाको अध्ययनमा टेवा पुर्याउने उद्देश्यले सहयोग गरिएको बताए। उनका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री अभावका कारण पढाइमा समस्या नहोस् भन्ने हेतुले सहयोग अभियान सञ्चालन गरिएको हो।
मिश्रले भीमदत्त आधारभूत विद्यालयका पीटीए अध्यक्ष रूपसिंह प्वाली, सहायक प्रधानाध्यापक खेमसिंह साउद, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दिवाकर जोशी तथा बैजनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक विशाल विकलाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए।
यस वर्षको २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत यसअघि पनि नगरभित्रका ५२ सामुदायिक विद्यालयमा अध्ययनरत १०४ जना विद्यार्थीलाई जनही एक हजार रुपैयाँ, कापी र कलम वितरण गरिएको थियो।
भीमदत्त नगरपालिका-बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमाणन्द नाथले होटल व्यवसायी मिश्रको सामाजिक भावनाको उच्च प्रशंसा गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए। उनले भर्ना अभियान चलिरहेका बेला कतिपय विद्यार्थीलाई सामान्य शैक्षिक सामग्री खरिद गर्न समेत समस्या हुने भएकाले यस्तो सहयोगले ठूलो राहत पुगेको उल्लेख गरे।
समाजसेवी गङ्गादत्त जोशीले गरिब तथा विपन्न परिवारका विद्यार्थीको शैक्षिक भविष्य उज्यालो बनाउन निजी क्षेत्रको यस्तो योगदान उदाहरणीय रहेको बताए। शैक्षिक सामग्री तथा सहयोग प्राप्त गरेपछि विद्यार्थीहरू हर्षित भएका छन् भने अभिभावक र शिक्षकहरूले समेत कार्यक्रमको खुलेर प्रशंसा गरेका छन्।
निजी क्षेत्रबाट दुर्गम ग्रामीण भेगका विद्यार्थीको शिक्षामा प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले गरिएको यो अभियान सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ। समाजसेवी तथा व्यवसायी मिश्रको यस पहलले शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा थप्नुका साथै अन्य व्यवसायी तथा संस्थालाई पनि सामाजिक सेवामा प्रेरित गर्ने विश्वास गरिएको छ।























Discussion about this post