काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले वर्तमान कार्यकालभित्रै सुकुमवासी तथा सहकारी पीडितहरूको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चितवनको भरतपुरमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विगतका समस्यालाई चुनावी मुद्दा बनाइरहने होइन, कार्यान्वयनमार्फत समाधान गरेर नयाँ एजेन्डासहित जनतामाझ जाने लक्ष्य रहेको बताएका हुन्।
उनले भने, “हामी यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं, यही कार्यकालमा सहकारी समस्या पनि समाधान गर्छौं। अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जनतामाझ जाँदैनौं, नयाँ एजेन्डा लिएर जाने हो।”
प्रधानमन्त्री शाहले जनताले परिवर्तनको अपेक्षासहित दिएको जिम्मेवारीलाई परिणाममुखी ढंगले पूरा गर्ने प्रतिबद्धता जनाउँदै सरकार समस्याको समाधानमा केन्द्रित रहेको बताए। उनले पुराना समस्या समाधान नगरी बारम्बार चुनावी नाराका रूपमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए।
भरतपुरमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा नेताहरूको सहभागिता रहेको छ।
प्रधानमन्त्री शाहको सम्बोधनलाई कार्यान्वयनमुखी राजनीति र नयाँ एजेन्डाको संकेतका रूपमा समेत व्याख्या गरिएको छ।























Discussion about this post