अमेरिकी ब्याजदर बढ्ने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो

विश्व बजारमा बुधबार बहुमूल्य धातु सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अमेरिकामा सरकारी ऋणपत्र (ट्रेजरी बिल)को प्रतिफल बढ्नुका साथै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर थप बढाउन सक्ने अपेक्षाले सुनको भाउ दबाबमा परेको हो।

बुधबार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य १.२१ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ९७६ डलर ७४ सेन्टमा झरेको छ। कारोबारका क्रममा सुनको मूल्य प्रतिऔंस ३ हजार ९६१ डलर ४५ सेन्टसम्म पुगेको थियो, जुन गत नोभेम्बरयताकै सबैभन्दा न्यून स्तर मानिएको छ।

त्यस्तै, अगस्ट डेलिभरीका लागि अमेरिकी गोल्ड फ्युचर्सको मूल्य पनि १.४ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ९८२ डलर ९ सेन्टमा कारोबार भएको छ।

विश्लेषकहरूका अनुसार पश्चिम एसियामा जारी तनावका कारण मुद्रास्फीति बढ्ने चिन्ता कायमै रहेकाले फेडले ब्याजदर बढाउने सम्भावना बलियो बनेको छ। यसले सुनमा लगानीकर्ताको आकर्षण घटाएको छ। टेस्टीलाइभका ग्लोबल म्याक्रो प्रमुख इलिया स्पिभाकका अनुसार अमेरिकी ट्रेजरी प्रतिफल र अमेरिकी डलर दुवै मजबुत बनेकाले सुनमाथि थप दबाब परेको हो। अमेरिकी डलर बलियो हुँदा अन्य मुद्राधारकका लागि सुन महँगो पर्न जाने भएकाले मागमा समेत असर पर्ने देखिएको छ।

यसैबीच, क्लिभल्यान्ड फेडरल रिजर्भ बैंककी अध्यक्ष बेथ ह्याम्याकले मुद्रास्फीति अपेक्षाअनुसार नघटेमा ब्याजदर थप बढाउनुपर्ने अवस्था आउन सक्ने बताएकी छन्। बजार विश्लेषणअनुसार सेप्टेम्बरमा अमेरिकी फेडले ब्याजदर बढाउने सम्भावना करिब ६७ प्रतिशत रहेको अनुमान गरिएको छ।

लगानीकर्ताको ध्यान अहिले अमेरिकाको जुन महिनाको निजी क्षेत्रको रोजगारी प्रतिवेदन तथा बिहीबार सार्वजनिक हुने गैरकृषि रोजगारीसम्बन्धी तथ्याङ्कतर्फ केन्द्रित छ। यी विवरणले अमेरिकी मौद्रिक नीतिको आगामी दिशाबारे थप संकेत दिने अपेक्षा गरिएको छ।

यता, इरानले अमेरिकी उच्च अधिकारीहरूसँग तत्काल वार्ता नगर्ने बताएपछि अमेरिका–इरानबीच छिट्टै कूटनीतिक समाधान ननिस्कने अनुमान बलियो बनेको छ। त्यसको प्रभावस्वरूप अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत बढेको छ।

बुधबारको कारोबारमा अन्य बहुमूल्य धातुको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १.८ प्रतिशतले घटेर प्रतिऔंस ५७ डलर ५३ सेन्टमा आएको छ। प्लेटिनम ०.६ प्रतिशतले घटेर प्रतिऔंस १ हजार ५४१ डलर ९५ सेन्टमा झरेको छ भने प्यालाडियम १.४ प्रतिशतले घटेर प्रतिऔंस १ हजार १८७ डलर ९ सेन्टमा कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित