कञ्चनपुर, बेलौरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलौरी नगर समितिले बेलौरी नगरपालिकासमक्ष सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको माग गर्दै १२ बुँदे मागपत्र पेश गरेको छ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइएको मागपत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, सडक पूर्वाधार, सुरक्षा, न्याय, सेवा प्रवाहलगायतका विषयमा तत्काल सुधारका कदम चाल्न आग्रह गरिएको छ।
रास्वपाले निजी तथा सामुदायिक विद्यालयको नियमित अनुगमन, स्वास्थ्य संस्थामा मनपरी शुल्क र लापरवाही नियन्त्रण, सुरक्षित खानेपानीको सुनिश्चितता, व्यवस्थित फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जीर्ण सडकको समयमै मर्मत र गुणस्तरीय निर्माणको माग गरेको छ। त्यस्तै तस्करी नियन्त्रण, गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउने, पारदर्शी प्रशासन र जनउत्तरदायी स्थानीय सरकार निर्माणमा पनि जोड दिएको छ।
रास्वपा बेलौरी नगर समितिले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले जनताका आधारभूत समस्या समाधानमा अझ जिम्मेवार र उत्तरदायी हुनुपर्ने उल्लेख गरेको छ।
रास्वपाका अनुसार बेलौरीको विकास, सुशासन र सेवा प्रवाहको सुधारका विषयमा पार्टीले सुरुदेखि नै निरन्तर खबरदारी गर्दै आएको छ। स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी र जवाफदेहिता बढाउन यस्ता रचनात्मक पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।
स्थानीयवासीहरूले पनि विकास निर्माण, सेवा प्रवाह र सुशासनका विषयमा जनप्रतिनिधिलाई जिम्मेवार बनाउने उद्देश्यसहित रास्वपाले उठाएका अधिकांश मुद्दा जनसरोकारसँग जोडिएको भन्दै यसको सकारात्मक रूपमा प्रशंसा गरेका छन्।






















Discussion about this post