सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समसामयिक सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा मनसुनजन्य विपद् व्यवस्थापनबारे सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन्।
मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा देशभर विकसित राजनीतिक तथा सामाजिक परिस्थिति, विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन, सम्भावित प्रदर्शन तथा झडपका घटना र मनसुनका कारण प्रदेशका विभिन्न जिल्लामा आउन सक्ने बाढी, पहिरो र डुबानको जोखिमबारे विस्तृत समीक्षा गरिएको थियो।
बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज तथा सिराहामा दुई समुदायबीच भएको झडपमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
सुनसरी र सिराहालगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक तनावको असर सुदूरपश्चिममा समेत पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेशभर सामाजिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्ने तथा सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ।
बैठकले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन, आवश्यक पूर्वतयारी गर्न तथा मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
बैठकमा प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याल, सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति उपरथी किरण केसी, उपरथी पवन खत्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रदेश प्रहरी प्रमुख सानुराम भट्टराई तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति दिग्बिजय सुवेदीलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।






















Discussion about this post