सुनसरी घटनापछि तराई–मधेशमा उच्च सुरक्षा सतर्कता, २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं— सुनसरी घटनापछि तराई–मधेश क्षेत्रमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले थप २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार गण, तालिम केन्द्र, पहाडी जिल्ला तथा प्रधान कार्यालयबाट करिब १ हजारभन्दा बढी नेपाल प्रहरी तराई–मधेश क्षेत्रमा खटाइएको छ। उनी स्वयं पनि सुरक्षा समन्वयका लागि सप्तरी पुगेका छन्।

सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल प्रहरीका एआईजी सिद्धीविक्रम शाह, हिमालयकुमार श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी र ईश्वर कार्कीसहितका उच्च अधिकारी विभिन्न जिल्लामा परिचालित भएका छन्। त्यस्तै डीआईजी, एसएसपी र अन्य वरिष्ठ प्रहरी अधिकृतहरूलाई सिरहा, सप्तरी, सर्लाही, पर्सा, रौतहट, महोत्तरी, बारा, मोरङ र धनुषालगायत जिल्लामा जिम्मेवारी दिइएको छ।

यस्तै, सशस्त्र प्रहरी बलले पनि करिब १ हजार अतिरिक्त सुरक्षाकर्मी तराई–मधेश क्षेत्रमा परिचालन गरेको जनाएको छ। सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार एआईजी गणेश ठाडा मगरको नेतृत्वमा टोली फिल्डमा खटिएको छ।

सुरक्षा निकायले सम्भावित अप्रिय घटना रोक्न, शान्ति–सुरक्षा कायम गर्न, सूचना संकलन, विश्लेषण तथा सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न उच्च तहका अधिकारीहरूलाई समेत फिल्डमा परिचालन गरेको जनाएको छ।

सुनसरी घटनापछि मोरङ, सुनसरी, सिरहा, धनुषालगायत तराईका जिल्लामा थप तनाव उत्पन्न हुन सक्ने आकलन गर्दै सुरक्षा सतर्कता बढाइएको हो।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ पनि अहिले तराई–मधेश क्षेत्रमै रहेर सुरक्षा अवस्थाको अनुगमन गरिरहेका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआईजी काफ्ले तथा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालका अनुसार हिजोको तुलनामा आज सुरक्षा अवस्था उल्लेखनीय रूपमा शान्त बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित