दोदा नदीको कटान रोक्न लालझाडीमा वृहत् वृक्षारोपण अभियान सुरु, संरक्षणका लागि काडेतारसहित घेराबार

लालझाडी । दोदा नदीको बढ्दो कटान नियन्त्रण, डुबान–पटान न्यूनीकरण तथा वातावरण संरक्षण गर्ने उद्देश्यले लालझाडी गाउँपालिका-२ मा वृहत् वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ। लालझाडी गाउँपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) र मर्सिकोरको संयुक्त साझेदारीमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत नदी किनारमा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै संरक्षणका लागि काडेतारसहित घेराबारको व्यवस्था गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले प्राकृतिक स्रोत संरक्षणसँगै भावी पुस्ताका लागि हरियाली वातावरण निर्माण गर्न वृक्षारोपण अत्यन्त आवश्यक रहेको बताए। उनले दोदा नदीको कटानका कारण वर्षेनी खेतीयोग्य जमिन, बस्ती तथा सार्वजनिक सम्पत्तिमा क्षति पुग्दै आएकाले त्यसलाई न्यूनीकरण गर्न वैज्ञानिक ढंगले वृक्षारोपण अभियान अघि बढाइएको उल्लेख गरे।

गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यक्रम मात्र नभई वातावरण, जैविक विविधता र मानव जीवनको सुरक्षासँग प्रत्यक्ष जोडिएको अभियान भएको बताइन्। उनले रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहने धारणा व्यक्त गरिन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले वातावरणीय सन्तुलन कायम गर्न, नदी किनारलाई मजबुत बनाउन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले वृक्षारोपणसँगै संरक्षणलाई प्राथमिकता दिइएको र त्यसका लागि काडेतार तथा घेराबारको व्यवस्था गरिएको जानकारी दिए।

वडा नं. २ का वडा अध्यक्ष आसाराम रानाले दोदा नदीले वर्षेनी कटान गर्दै स्थानीय बस्ती र खेतीयोग्य जमिनमा असर पुर्‍याउँदै आएको स्मरण गराउँदै वृक्षारोपण अभियानले दीर्घकालीन रूपमा नदी नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य, कर्मचारी, वडा नं. २ विपद् व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय महिला, युवा तथा विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा नदी किनारमा बिरुवा रोप्दै वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता जनाएका थिए।

आयोजकका अनुसार यो अभियान एकदिने कार्यक्रममा सीमित रहने छैन। आगामी दिनहरूमा पनि नदी कटानको उच्च जोखिम रहेका क्षेत्रहरूमा चरणबद्ध रूपमा वृक्षारोपण विस्तार गरिनेछ। रोपिएका बिरुवाको नियमित हेरचाह, संरक्षण र अनुगमनलाई समेत प्राथमिकतामा राखिने जनाइएको छ।

दोदा नदी किनारमा गरिएको वृक्षारोपणले नदीको बहावबाट हुने माटो कटान कम गर्न, डुबान–पटानको जोखिम घटाउन, जैविक विविधता संरक्षण गर्न तथा स्थानीय वातावरणलाई हराभरा बनाउन दीर्घकालीन भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै यस अभियानले जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ वातावरण निर्माण र प्राकृतिक विपद् व्यवस्थापनमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

स्थानीयवासीहरूले पनि यस्तो अभियानले वातावरण संरक्षणसँगै नदीजन्य विपद्बाट हुने क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। गाउँपालिका र साझेदार संस्थाहरूको सहकार्यमा सुरु भएको यो अभियानलाई स्थानीय स्तरमा वातावरण संरक्षण र प्राकृतिक विपद् न्यूनीकरणको उदाहरणीय पहलका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित