बेलडाँडी । वातावरण संरक्षण तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सञ्चालित CONNECT (कनेक्ट) परियोजना/हिमाली प्रकृति को सहयोगमा आयोजित अन्तर विद्यालय चित्रकला प्रतियोगितामा गणेश माध्यमिक विद्यालय, भुर्षाकी छात्रा अन्सु सार्की प्रथम भएकी छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग सम्बन्धित विद्यालय सचेतना कार्यक्रमअन्तर्गत सरस्वती माध्यमिक विद्यालय तथा सरस्वती माध्यमिक विद्यालय इको क्लब को आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा विद्यार्थीहरूले वातावरण संरक्षण, वन्यजन्तु संरक्षण, जैविक विविधता तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँग सम्बन्धित विषयमा आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए। प्रतियोगितामार्फत विद्यार्थीहरूमा प्रकृति संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।उनको उपलब्धिले विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकमा खुसी छाएको छ।
विद्यालय परिवारले अन्सु सार्कीको सफलताप्रति बधाई व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिमा उत्कृष्ट प्रदर्शनको शुभकामना दिएको छ।
उक्त कार्यक्रमलाई CONNECT परियोजना, हिमाली प्रकृति, JOA (Jersey Overseas Aid), ZSL तथा NTNC लगायतका संस्थाहरूले सहयोग गरेका थिए।





















Discussion about this post