कञ्चनपुर, ५ भदौ । सशस्त्र प्रहरीले कञ्चनपुरमा एकै दिन १० लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छली गरी ल्याइएका अवैध सामान बरामद गरेको छ। सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा खटिएको सशस्त्र प्रहरीको टोलीले शुक्रबार एकै दिन ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार विभिन्न स्थानबाट करिब १० लाख ६ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो।
गण मातहतका गुल्म तथा बोर्डर आउट पोस्ट (बीओपी) बाट परिचालित टोलीले बेलौरी, पुनर्वास, भुडा, ब्रह्मदेवलगायतका सीमावर्ती क्षेत्रबाट सामान बरामद गरेको सिग्देलले जानकारी दिए।
बरामद गरिएका सामानमा चिनी, सुर्ती, चस्मा, घडी, पेय पदार्थलगायत रहेका छन्। तस्करीमा प्रयोग भएका भारतीय नम्बर प्लेटसहित चारवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि त्रिनगर र गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, भारतबाट ल्याइएको प्रतिबन्धित ब्रोइलर कुखुरासमेत बरामद गरी नष्ट गरिएको छ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा चोरी–तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी तथा गस्ती बढाएको जनाएको छ। प्रदेश र जिल्लाको कमाण्ड सम्हालेपछि नेतृत्वबाट सीमाक्षेत्रमा २४ सै घण्टा उच्च सतर्कताका साथ खटिन निर्देशन दिइएको सशस्त्र प्रहरीको दाबी छ।
यद्यपि, नागरिक समाजले भने बरामद गरिएका सामान भन्सार चलान गरेपछि मात्र कारबाही पूरा नहुने भन्दै तस्करीको जालो नै नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ। विगतमा सामान बरामद गर्ने तर पछि मिलेमतोमा छाड्ने प्रवृत्ति दोहोरिन नहुने भन्दै नागरिकले सशस्त्र प्रहरीलाई निष्पक्ष र निरन्तर रूपमा राजस्व चुहावटविरुद्ध सक्रिय रहन सुझाव दिएका छन्।
सीमावर्ती क्षेत्रमा हुने भन्सार छली र तस्करी नियन्त्रणसँगै राजस्व संरक्षणका लागि सुरक्षा निकायको सक्रियता निरन्तर रहनुपर्ने नागरिक समाजको भनाइ छ।





















Discussion about this post