बालविवाह अन्त्यका लागि परिवारदेखि राज्यसम्मको सहकार्यमा जोड

शुशिल राना/कञ्चनपुर । कञ्चनपुरमा बालविवाह अन्त्यका लागि सरोकारवाला निकायले सामूहिक प्रयास र प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

पेशवान नेपालले आइतबार महेन्द्रनगरमा आयोजना गरेको सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाले बालविवाह सामाजिक विकृतिसँगै बालबालिकाको भविष्यमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यको विकल्प नभएको बताएका हुन्।

‘उत्थानशील भविष्यः नेपालमा बालविवाहको अन्त्य परियोजना’ सम्बन्धी छलफलमा बालविवाह रोक्न कानुनी व्यवस्था मात्रै पर्याप्त नभई परिवार, समुदाय, स्थानीय सरकार, सञ्चारकर्मी तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइयो। नेपालमा विवाहका लागि २० वर्ष उमेर तोकिए पनि व्यवहारमा अझै बालविवाह भइरहेकाले यसको प्रभावकारी कार्यान्वयन र सामाजिक सचेतना बढाउनुपर्ने सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा पेशवान नेपालका सदस्य दमनबहादुर चन्दले कैलाली र कञ्चनपुरमा बालविवाह अन्त्यसँगै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा जीविकोपार्जनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार विपन्न समुदायका ३० हजार ७३० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

त्यस्तै, विभिन्न ५० स्थानमा आँखा शिविर सञ्चालन गरी १२ हजार २३४ जनाको आँखा परीक्षण गरिएको, ३ हजार ६०७ जनालाई चस्मा वितरण तथा १ हजार ७५१ जनाको शल्यक्रिया गरिएको उनले बताए। कञ्चनपुरका ६५ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको तथा दोधारा चाँदनी नगरपालिकाका २५० बाढी प्रभावित घरधुरीलाई खाद्यान्नलगायत सामग्री सहयोग गरिएको चन्दले जानकारी दिए।

उनका अनुसार ५५ जनालाई व्यवसाय सञ्चालनमा सहयोग, दुईवटा सेफ हाउस निर्माण तथा अर्को एकको मर्मत गरिएको छ। थप दुईवटा सेफ हाउस निर्माणको तयारीमा रहेका छन्। यस्तै, पाँचवटा दुना–टपरी मेसिन, छवटा बोरिङ, चारवटा उचोधारा तथा चारवटा जैविक तटबन्ध निर्माणका लागि सहयोग गरिएको छ।

विपद् व्यवस्थापनतर्फ पालिका तथा जिल्ला विपद् आपत्कालीन केन्द्रलाई उद्धार सामग्री उपलब्ध गराउनुका साथै तीनवटा बहुविपद् पूर्वचेतावनी साइरन जडान र दुईवटा मर्मत गरिएको चन्दले बताए। छवटा विद्यालयमा ‘हिट रिफ्लेक्टिभ पेन्ट’ लगाइएको तथा सहकारीमार्फत सञ्चालित दुईवटा दुग्ध सङ्कलन केन्द्रलाई चार लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री सहयोग गरिएको उनले जानकारी दिए। दुई–दुईवटा ई–रिक्सा लोडर तथा सोलार प्रणालीमा समेत सहयोग गरिएको उनले बताए।

‘उत्थानशील भविष्यः नेपालमा बालविवाहको अन्त्य परियोजना’ का संयोजक लक्ष्मणसिंह विष्टले परियोजनामार्फत महिला तथा बालबालिकालाई लक्षित गरी बालविवाह अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए। उनका अनुसार कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा समेत परियोजनाका कार्यक्रम सञ्चालन भइरहेका छन्।

कञ्चनपुरका वरिष्ठ पत्रकार चित्राङ्ग थापाले बालविवाह रोक्न कानुनी व्यवस्था भए पनि व्यवहारमा अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए। बालविवाह अन्त्यका लागि सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय तहले थालेका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

उनले बालविवाहविरुद्ध जनचेतना फैलाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस विषयलाई निरन्तर सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

पेशवान नेपालका सदस्य हरिहर परियारले बालविवाहले बालबालिकाको भविष्य मात्र नभई परिवार, समुदाय हुँदै समग्र समाजमा दीर्घकालीन असर पार्ने बताए। बालविवाह अन्त्यका लागि सबै पक्ष एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सञ्चारकर्मी, सामाजिक क्षेत्रका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित