काठमाडौँ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका वर्षौंदेखिका समस्या, विकासका सम्भावना र स्थानीय जनताका आवाज बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलडाँडीका सभापति तेज सिंह धामी संघीय राजधानी काठमाडौँ पुगेका छन् ।
बेलडाँडी क्षेत्रका विकास निर्माण, कृषि, वातावरण, निकुञ्जसँग जोडिएका कानुनी जटिलता तथा स्थानीय जनताले लामो समयदेखि भोग्दै आएका समस्याको समाधानका लागि सभापति धामीले क्षेत्र नम्बर १ का सांसद जनक सिंह धामीसँगै कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरण मन्त्री गीता चौधरीसँग भेटवार्ता गरी विस्तृत छलफल गरेका छन् ।
भेटका क्रममा बेलडाँडीको सम्भावना उजागर गर्दै वर्षौंदेखि कानुनी बाधा र जटिलताका कारण अल्झिएका स्थानीय मुद्दालाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने विषय उठाइएको सभापति धामीले बताए । उनले जनताले लामो समयदेखि भोगिरहेका समस्या अब केवल छलफलमै सीमित नभई आवश्यक कानुनी संशोधन र नीतिगत निर्णयमार्फत व्यवहारिक समाधानमा पुग्नुपर्नेमा जोड दिएका छन् ।
छलफलमा विशेषगरी रासायनिक मल तथा खाद्य आपूर्तिको समस्या, संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको कालिकिच ताल, निकुञ्ज र मानव बस्तीबीचको स्पष्ट सीमाङ्कन, वन्यजन्तु र मानवबीच बढ्दो द्वन्द्व न्यूनीकरणलगायतका विषयलाई प्रमुखताका साथ उठाइएको थियो ।
त्यसैगरी, दशकौँदेखि बसोबास गर्दै आएका नागरिकको जग्गा साविक जंगल तथा नेपाल सरकारको नाममा देखिँदा उत्पन्न समस्या, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने विषय, विकास निर्माणका क्रममा सडक क्षेत्रमा पर्ने रुख कटानका कारण सिर्जना हुने अवरोध हटाउने विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
बेलडाँडीका बस्ती निकुञ्जसँग प्रत्यक्ष जोडिएकाले स्थानीय नागरिकले जंगली जनावरको त्रास खेप्दै आएको उल्लेख गर्दै सभापति धामीले बस्तीको किनारबाट कम्तीमा ५ सय मिटर क्षेत्रलाई सामुदायिक वनका रूपमा विकास गर्नुपर्ने प्रस्तावसमेत राखेका छन् ।
त्यस्तै, जंगली हात्ती, बाघलगायतका वन्यजन्तुबाट हुने मानव, पशुधन, घर तथा खेतीबालीको क्षतिमा प्रभावित परिवारलाई प्रभावकारी राहत तथा विशेष क्षतिपूर्ति प्याकेज उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
छलफलका क्रममा पशुपालन क्षेत्रसँग जोडिएका समस्यालाई समेत प्राथमिकताका साथ उठाइएको थियो । विशेषगरी दूध तथा दुग्धजन्य पदार्थलाई सुरक्षित र गुणस्तरीय बनाउन पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउने, पशु रोग नियन्त्रण तथा निरोगी पशुपालनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा पनि मन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
सभापति तेज सिंह धामीले बेलडाँडीका समस्या कुनै एक व्यक्ति वा समुदायको मात्र नभई समग्र क्षेत्रको विकास र भविष्यसँग जोडिएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयलाई जिम्मेवार र गम्भीर बन्न आग्रह गरेका छन् । उनले स्थानीय तहबाट मात्र समाधान हुन नसक्ने तथा कानुनी र नीतिगत जटिलतामा अड्किएका विषय संघीय सरकारको पहलबाट तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
क्षेत्र नम्बर १ का सांसद जनक सिंह धामीले समेत बेलडाँडीका जनताका वास्तविक समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री गीता चौधरीले आफ्नै गृहजिल्लाका जनताले भोगिरहेका समस्याप्रति आफू गम्भीर रहेको बताउँदै उठाइएका विषयको अध्ययन गरी समाधानका लागि आफूले सक्दो चाँडो पहल गर्ने आश्वासन दिएकी छन् ।
स्थानीय जनताका समस्या बोकेर संघीय राजधानीसम्म पुग्नु र सम्बन्धित मन्त्री तथा सांसदसँग प्रत्यक्ष रूपमा समाधानका उपाय खोज्नु सभापति तेज सिंह धामीको सक्रिय र जिम्मेवार राजनीतिक पहलका रूपमा हेरिएको छ । जनताका समस्या केवल सामाजिक सञ्जाल वा भाषणमा सीमित नराखी सम्बन्धित निकायसम्म पु¥याएर समाधानको ढोका खोल्ने उनको प्रयासले बेलडाँडीवासीमा नयाँ आशा जगाएको छ ।
अब बेलडाँडीका वर्षौंदेखि थन्किएका मुद्दा केवल फाइलमा सीमित रहने कि वास्तविक रूपमा समाधानको चरणमा प्रवेश गर्ने भन्ने प्रश्नसँगै, सभापति धामीको यो पहलले स्थानीय समस्या समाधानतर्फ एउटा महत्वपूर्ण सुरुआत गरेको विश्वास गरिएको छ ।




















Discussion about this post