कञ्चनपुर । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण कञ्चनपुर र डडेल्धुराका १३ जना कामदार सम्पर्कविहीन भएका छन्। उनीहरू रसुवामा सञ्चालित जलविद्युत् आयोजनामा कार्यरत थिए।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का नरेश चौधरी, हरिश चौधरी र नरेन्द्र चौधरी बुधबार बिहानदेखि सम्पर्कविहीन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार तीनै जना गत असारमा रोजगारीका लागि रसुवा पुगेका थिए।
त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिकाका १० जना कामदार पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। वडा नम्बर ३ कान्तिपुरका ६ जना, वडा नम्बर ७ नाउजीका तीन जना र वडा नम्बर ८ कुर्जेनीका एक जना सम्पर्कविहीन रहेको वडाध्यक्ष बलबहादुर बुढामगरले बताए।
सम्पर्कविहीन हुनेमा कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली रहेका छन्। त्यस्तै, नाउजीका दीपक घर्तिमगर, राजेश घर्तिमगर र किरण घर्तिमगर तथा कुर्जेनीका चन्द्रबहादुर जर्घा रहेका छन्।
उनीहरू करिब पाँच महिनाअघि रोजगारीका लागि रसुवा पुगेका थिए। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष बुढामगरले बताए।
वडाध्यक्ष बुढामगरका कान्छा छोरा सुनील बुढामगर पनि सोही क्षेत्रमा काम गर्न गएका थिए। तर, बुधबार काममा नगएकाले उनी सुरक्षित रहेको जनाइएको छ। सुनीलका अनुसार आफूहरू बस्ने डेरा पहाडतर्फ र काम गर्ने स्थान खोलाको किनारमा रहेको छ।
सुनीलले आफूसँगै कार्यरत करिब ३५ जना कामदारसमेत सम्पर्कविहीन रहेको जानकारी दिएको वडाध्यक्ष बुढामगरले बताए।
सम्पर्कविहीन कामदारहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।



















Discussion about this post