बेलडाँडीका ३ जनासहित कञ्चनपुरका ३६ जना बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन

बेलडाँडी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका ३६ जना नागरिक सम्पर्कविहीन भएका छन् । तीमध्ये बेलडाँडी गाउँपालिकाका तीन जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तले प्रहरीमा जानकारी गराएपछि उनीहरूको विवरण सङ्कलन गरी खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ ।

सम्पर्कविहीनमध्ये बेलडाँडी गाउँपालिका-३ कमरीका सन्तोष राना, अजय राना र सुरेश राना रहेका छन् । उनीहरू रोजगारी तथा अन्य कामको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेको बताइएको छ।

यसैगरी कञ्चनपुरका विभिन्न स्थानीय तहका नागरिकहरू पनि सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ । सम्पर्कविहीन हुनेमा भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका तथा लालझाडी गाउँपालिकाका नागरिक रहेका छन् ।

प्रहरीले आफन्तबाट प्राप्त सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको नाम, उमेर र ठेगानासहितको विवरण सङ्कलन गर्दै सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा कञ्चनपुरबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि पुगेका नागरिकको यकिन विवरण सङ्कलन गर्ने कामसमेत जारी रहेको बताइएको छ ।

सम्पर्कविहीन व्यक्तिको परिवार तथा आफन्तबाट थप सूचना प्राप्त भएमा सूची अद्यावधिक गरिने प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना आफन्तको अवस्थाबारे लामो समयसम्म जानकारी नआएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी आवश्यक विवरण उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

प्रहरीले विपद्को संवेदनशील अवस्थामा अपुष्ट सूचना र हल्लाको पछि नलागी आधिकारिक सूचनालाई मात्र आधार बनाउन सबैमा अनुरोध गरेको छ । साथै, खोज तथा उद्धार कार्यमा सहयोग पु¥याउन संयमित र एकताबद्ध हुनसमेत आग्रह गरिएको छ ।

बेलडाँडीका तीन युवकसहित जिल्लाका ३६ जना नागरिक सम्पर्कविहीन भएको खबरले परिवारजन र स्थानीयवासीमा चिन्ता बढाएको छ । उनीहरूको अवस्था छिट्टै पत्ता लागोस् र सबै सकुशल भेटिऊन् भन्ने कामना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित