कञ्चनपुर । बेलडाँडी गाउँपालिका-५ बैजनाथ टोलमा जंगली हात्तीले घर भत्काउँदा एक परिवार प्रभावित भएको छ। शनिबार बिहान करिब ४ बजे घरमा परिवारका सदस्यहरू सुतिरहेको समयमा आएको जंगली हात्तीले मोली रानाको कच्ची घरको भान्सा पूर्णरूपमा भत्काएको हो।
बेलडाँडी गाउँपालिका-५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार हात्तीले घरमा आक्रमण गरी भान्सा पूर्णरूपमा क्षतिग्रस्त बनाएको हो। देशमा बाढीको त्रासले नागरिकहरू त्रसित भइरहेका बेला बेलडाँडीमा जंगली हात्तीले समेत आतंक मच्चाइरहेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो।
यो घटना केही दिनयताकै दोस्रो गम्भीर घटना हो। केही दिनअघि मात्रै बेलडाँडीको क्याम्प क्षेत्रमा पनि जंगली हात्तीले एउटा कच्ची घर भत्काएर क्षति पुर्याएको थियो। लगातार घरमै प्रवेश गरेर क्षति पुर्याउन थालेपछि निकुञ्ज किनारका नागरिकमा त्रास झन् बढेको छ।
वडाध्यक्ष खड्काका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको किनारमा बसोबास गर्ने नागरिकहरू कहिले जंगली हात्ती त कहिले बाघको आतंकमा बाँच्न बाध्य छन्। “कहिले हात्तीको आतंक, कहिले बाघको आतंक, यहाँका नागरिक आतंकै आतंकमा बाँचिरहेका छन्,” उहाँले भन्नुभयो।
वन्यजन्तुको जोखिमसँगै निकुञ्ज किनारका स्थानीयले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रूपमा लालपुर्जा विहीन अवस्थामा बस्नुपर्ने समस्या पनि झेल्दै आएका छन्।
स्थानीयवासीले वन्यजन्तुबाट सुरक्षित हुने दीर्घकालीन उपाय, क्षतिको उचित मूल्यांकन तथा पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।




















Discussion about this post