काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको विषयमा उद्योगीहरूप्रति आक्रोश व्यक्त गर्दै आएकी मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगी तथा कर्मचारीतन्त्रमाथि कडा असन्तुष्टि जनाएकी थिइन्।
बैठकमा उनले “५८ वटा ग्यास उद्योग किन चाहियो?” भन्दै उद्योगीहरूलाई कडा नियमन नगरेसम्म ग्यास आपूर्ति सहज हुन नसक्ने धारणा राखेकी थिइन्। उनले आफू उद्योगी र कर्मचारीहरूसँग वाक्क भएकोसमेत बताएकी थिइन्।
मन्त्री यादवले सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै प्रशासनिक संयन्त्रमाथि पनि प्रश्न उठाएकी थिइन्। “देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थे?” भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी थिइन्।
यता, नेपाल उद्योग वाणिज्य महासंघले मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन र उद्योगीसँग माफी माग्नुपर्ने धारणा सार्वजनिक गरेको थियो।
ग्यास आपूर्ति व्यवस्थापन, उद्योगीहरूसँगको विवाद तथा कर्मचारीतन्त्रको असहयोगप्रति असन्तुष्टि जनाउँदै मन्त्री यादवले अन्ततः पदबाट राजीनामा दिएको बताइएको छ।





















Discussion about this post