बेलडाँडी । ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने सन्देशसहित नियमित बिहानको हिँडाइ, दौड र व्यायाममा जुट्दै आएको बेलडाँडी मर्निङवाक टिमले अब शारीरिक स्वास्थ्यसँगै सामाजिक स्वास्थ्य र सार्वजनिक स्थलको संरक्षणमा समेत योगदान दिन थालेको छ।
बिहानको समयलाई स्वास्थ्यका लागि सदुपयोग गर्दै आएको युवादेखि वयस्कसम्मको करिब १२-१५ जनाको समूहले नियमित शारीरिक अभ्याससँगै समाजका लागि सकारात्मक काम गर्ने अभियानलाई पनि अघि बढाएको हो।
यसैक्रममा मर्निङवाक टिमले बेलडाँडी गाउँपालिका-२ स्थित हुलाकी सडक र चवन्नी बजारलाई जोड्ने मुख्य पुलमा छरिएको गिट्टी तथा फोहोर पन्छाएर सरसफाइ गरेको छ। पुलमा छरिएको गिट्टीका कारण विशेषगरी दुईपाङ्ग्रे सवारीसाधन चिप्लिएर दुर्घटना हुनसक्ने जोखिम देखिएपछि टिमले बिहानको व्यायामका लागि छुट्याएको समयबाट थप समय निकालेर पुल सरसफाइ गरेको समाजसेवी डम्मर शाहले जानकारी दिनुभयो।
‘आफ्नो स्वास्थ्यका लागि केही समय निकाल्छौँ भने समाज र सार्वजनिक स्थलका लागि पनि केही समय दिनुपर्छ’ भन्ने भावनाका साथ सरसफाइ गरिएको उहाँले बताउनुभयो।
मर्निङवाक टिमले नियमित रूपमा १ किलोमिटर दौडने, १ किलोमिटर हिँड्ने र करिब आधा घण्टा शारीरिक व्यायाम गर्दै आएको छ। बिहान अबेरसम्म सुत्नुभन्दा केही समय अगावै उठेर हिँडडुल, दौड तथा व्यायाम गर्ने बानीले शरीरलाई तन्दुरुस्त राख्नुका साथै भविष्यमा निम्तिन सक्ने विभिन्न स्वास्थ्य समस्याको जोखिम घटाउन समेत सहयोग पुग्ने टिमको विश्वास छ।
बिहानको नियमित व्यायामले शरीरलाई सक्रिय र मनलाई प्रसन्न राख्ने भएकाले ‘आजको स्वस्थ जीवनशैली नै भोलिको स्वस्थ भविष्य’ भन्ने सन्देश दिन टिमले सामूहिक दौड तथा व्यायामलाई निरन्तरता दिइरहेको छ।
तर, मर्निङवाक टिमको उद्देश्य केवल आफू स्वस्थ बन्नुमा मात्र सीमित छैन। आफू स्वस्थ बनौँ, समाज पनि स्वस्थ र स्वच्छ बनाऔँ भन्ने भावनाका साथ सार्वजनिक स्थलको सरसफाइ, संरक्षण तथा सामाजिक काममा समेत हातेमालो गर्ने अभियान सुरु गरिएको हो।
बिहानको केही समय आफ्नो शरीरका लागि खर्चिने र त्यसै समयबाट केही क्षण समाजका लागि छुट्याउने हो भने स्वस्थ नागरिकसँगै स्वच्छ र सभ्य समाज निर्माणमा समेत योगदान पुग्ने टिमको विश्वास छ।




















Discussion about this post