कञ्चनपुर । पछिल्ला केही वर्षयता बेलडाँडी क्षेत्रमा बाघ, चितुवालगायत जंगली जनावरको आवतजावत बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। गाउँपालिकाका विभिन्न वडामा वन्यजन्तु बस्तीमा प्रवेश गर्ने, घरपालुवा जनावरमाथि आक्रमण गर्ने तथा पशुधनमा क्षति पुर्याउने घटना दोहोरिन थालेका छन्।
विशेषगरी बेलडाँडी गाउँपालिका-३ मा पछिल्ला केही महिनायता चितुवाले बस्तीमै पसेर खसी, बोका, बंगुर, गाईभैंसी, कुकुरलगायत घरपालुवा जनावरमाथि आक्रमण गरी खाने गरेको स्थानीयको गुनासो बढेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले चितुवा नियन्त्रणका लागि पिँजडा थापेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत बेलडाँडी रेञ्जर पोस्टका प्रमुख निमबहादुर चौधरीका अनुसार चितुवा नियन्त्रणमा लिन बिहीबार बेलडाँडी-३ स्थित बैवाह उखुबारी नजिक पिँजडा राखिएको हो।
चितुवाले दिनहुँजसो घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणको प्रयास थालिएको रेञ्जर चौधरीले बताउनुभयो। निकुञ्ज कार्यालयका डा. आभाष श्रेष्ठसहित राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का कर्मचारी तथा प्राविधिक टोलीले बाख्रा राखेर चितुवालाई पिँजडामा पार्ने प्रयास थालेको उहाँले जानकारी दिनुभयो।
पिँजडामा चितुवा नियन्त्रणमा आएपछि आवश्यक प्रक्रिया पूरा गरी निकुञ्जभित्र लगिने चौधरीले बताउनुभयो।
बेलडाँडी गाउँपालिका-३ का वडाध्यक्ष दुर्गाप्रसाद चौधरीका अनुसार चितुवाले एक दिन बिराएरजसो घरपालुवा बाख्रा तथा बंगुरका पाठापाठीलगायत जनावर खान थालेपछि नियन्त्रणका लागि निकुञ्ज कार्यालयलाई जानकारी गराइएको हो।
पछिल्लो समय बेलडाँडीसहित आसपासका क्षेत्रमा बाघ, चितुवालगायत वन्यजन्तुको आवतजावत बढ्दै जाँदा मानव-वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ। वन्यजन्तुको आक्रमणबाट घरपालुवा जनावरमा भइरहेको क्षति रोक्न प्रभावकारी नियन्त्रण, नियमित निगरानी तथा आवश्यक सुरक्षा व्यवस्था गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।
बेलडाँडीमा चितुवाको आतंक बढेपछि नियन्त्रणका लागि पिँजडा थापियो





















Discussion about this post