हिज्जे प्रतियोगितामा बेलडाँडी नवज्योति प्रथम, सगरमाथा दोस्रो र सरस्वती जनता मावि तेस्रो

बेलडाँडी । बेलडाँडी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा सम्पन्न हिज्जे प्रतियोगितामा बेलडाँडी-१ स्थित नवज्योति पब्लिक स्कुल प्रथम भएको छ।

बेलडाँडी-२ स्थित सिंहपाल आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा सगरमाथा शिक्षा एकेडेमी, बेलडाँडी-१ द्वितीय र सरस्वती जनता माध्यमिक विद्यालय, बैवाह-४ तृतीय भएका छन्।

प्रतियोगितामा बेलडाँडी गाउँपालिकाभित्रका १३ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिताको उत्कृष्ट ६ मा नवज्योति पब्लिक स्कुल, मोडेल चाइल्ड केयर बोर्डिङ स्कुल, सगरमाथा शिक्षा एकेडेमी, सरस्वती जनता मावि, सरस्वती मावि झर्नासागर र बेलडाँडी ग्लोबल एकेडेमी छनोट भएका थिए।

प्रतियोगितामा प्राप्त सफलताले विद्यार्थीको निरन्तर लगनशीलता, मेहनत र अभ्यासको परिणाम पुष्टि गरेको नवज्योति पब्लिक स्कुलका प्रिन्सिपल हर्कराज जोशीले बताउनुभयो। उहाँले विद्यालयले विद्यार्थीको पढाइसँगै अतिरिक्त क्रियाकलाप, सिर्जनात्मकता र प्रतिस्पर्धात्मक क्षमताको विकासलाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो।

“शिक्षा केवल पाठ्यपुस्तक पढेर परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र होइन, विद्यार्थीको ज्ञान, सीप, आत्मविश्वास र प्रतिभालाई उजागर गर्ने आधार पनि हो,” जोशीले भन्नुभयो, “निरन्तर मेहनत र अभ्यास गरे विद्यार्थीले जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट परिणाम हासिल गर्न सक्छन्।”

हिज्जे प्रतियोगिताले विद्यार्थीमा शब्दज्ञान, शुद्ध लेखन, स्मरणशक्ति तथा आत्मविश्वास बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। यस्ता अतिरिक्त शैक्षिक गतिविधिले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित