बेलौरीमा योगदानमा आधारित सामाजिक सुरक्षा सचेतना शिविर सम्पन्न

बेलौरी । बेलौरी नगरपालिकाको आयोजनामा योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी एकदिने सचेतना शिविर सोमबार सम्पन्न भएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको शिविरमा श्रमिक, रोजगारदाता, स्वरोजगार उद्यमी, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिविरमा ‘सशक्त महिला समृद्ध नेपाल’, युरोपियन युनियन, संयुक्त राष्ट्र संघ, सामाजिक सुरक्षा कोष, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल तथा निड्स नेपालको सहकार्य र समन्वय रहेको थियो।

कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया, यसको महत्व, योगदानकर्ताले प्राप्त गर्ने सेवा-सुविधा तथा विभिन्न सामाजिक सुरक्षा योजनामा सहभागी हुने तरिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। विशेषगरी औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, रोजगारदाता, स्वरोजगार व्यक्ति तथा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई सामाजिक सुरक्षा प्रणालीसँग जोड्ने विषयमा छलफल गरिएको थियो।

बेलौरी नगरपालिका रोजगार संयोजक नरेश भट्टले कार्यक्रमबाट स्थानीय स्तरमा समेत समाजिक सुरक्षा कोषका सेवाबारे सरोकारवालाले जानकारी गराएको बताए । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले उक्त कार्यक्रम मार्फत स्वदेश तथा विदेशमा औपचारिक क्षेत्रमा कार्यरत नागरिकले लाभ लिने बताए ।

सामाजिक सुरक्षा कोषका प्रशासन निर्देशक दिनेश कोइरालाले सामाजिक सुरक्षा प्रणालीले नागरिकको भविष्यलाई सुरक्षित र व्यवस्थित बनाउने उल्लेख गर्दै श्रमिक, रोजगारदाता र स्वरोजगार व्यक्तिहरूलाई कोषमा आबद्ध हुन आग्रह गर्नुभयो। उहाँले स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना तथा उपदानलगायतका सुविधा कोषमार्फत प्राप्त गर्न सकिने जानकारी दिनुभयो।

त्यसैगरी, निड्स नेपालका कार्यक्रम प्रबन्धक मिन शाहीले सामाजिक सुरक्षा योजनाबारे जनचेतना विस्तार गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले स्थानीय तहले नेतृत्वदायी भूमिका निर्वाह गर्दै औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, रोजगारदाता तथा स्वरोजगार उद्यमीलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा नगरपालिकासहित साझेदार संस्थाका प्रतिनिधिहरूले कोषमा आबद्ध हुने प्रक्रिया, योगदान गर्ने तरिका तथा विभिन्न योजनाबाट प्राप्त हुने सुविधाबारे सहजीकरण गरेका थिए। सहभागीहरूले सामाजिक सुरक्षा योजनाले श्रमिक र उनीहरूको परिवारको भविष्य सुरक्षित बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए।

बेलौरी नगरपालिकाले सामाजिक सुरक्षा सम्बन्धी यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित