कञ्चनपुर । लगातारको वर्षाका कारण कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीसहित आसपासका क्षेत्रमा भित्र्याउने तयारीमा रहेको पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ।
लटरम्म धान पाकेर भित्र्याउने तयारी गरिरहेका किसानलाई वर्षाले ठूलो पीडा दिएको छ। लगातारको झरीका कारण खेतमा पाकेर तयार भएको धान ढलेर पानीमा डुब्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।
धानका बाला पानीमा डुब्दा उत्पादनमा क्षति पुग्नुका साथै भित्र्याउनसमेत कठिन हुने अवस्था सिर्जना भएको किसानहरू बताउँछन्। वर्षा केही दिन लम्बिएमा खेतमै धान कुहिने तथा उत्पादनमा थप गिरावट आउने चिन्ता उनीहरूमा छ।
बेलडाँडीलगायत कञ्चनपुरका दक्षिणी क्षेत्रमा धान प्रमुख खाद्यान्न बालीका रूपमा खेती हुँदै आएको छ। वर्षभरको मेहनतपछि भित्र्याउने बेलामा परेको लगातारको वर्षाले किसानको आशामाथि नै चोट पुर्याएको छ।
यसैबीच, दार्चुला र बैतडी क्षेत्रमा भइरहेको भारी वर्षाका कारण कञ्चनपुरका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले बाढीको जोखिमसमेत बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले यसअघि नै सुदूरपश्चिमसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावनाबारे सचेत गराउँदै आएको थियो।
भित्र्याउने समयमै परेको वर्षाले धानबालीमा क्षति पुगेपछि किसानले सम्भावित थप क्षतिबाट जोगाउन स्थानीय तह तथा सम्बन्धित निकायबाट आवश्यक सहयोग र व्यवस्थापनको अपेक्षा गरेका छन्।





















Discussion about this post