बेलडाँडी । लगातार भइरहेको वर्षाका कारण कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका चौधर नदी र झरना खोलामा पानीको बहाव बढ्दै गएको छ। वर्षा नरोकिए बहाव थप बढ्न सक्ने भन्दै गाउँपालिकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेका मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानलाई ध्यान दिँदै नदी, खोला तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।
अध्यक्ष रानाका अनुसार हाल चौधर नदीमा पानीको बहाव तुलनात्मक रूपमा कम भए पनि निरन्तर वर्षा भइरहेकाले जुनसुकै बेला बहाव बढ्न सक्ने अवस्था छ। त्यसैले नदी तथा खोलाको आसपास अनावश्यक रूपमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन र सम्भावित जोखिमबाट जोगिन उनले आग्रह गरेका छन्।
लगातारको वर्षाका कारण बेलडाँडीका किसानले भित्र्याउने तयारी गरेको पाकेको धानबाली ढल्न थालेपछि कृषि क्षेत्रमा समेत क्षतिको जोखिम बढेको छ। खेतमा पाकेको धान ढलेर पानीमा डुब्न थालेपछि किसान चिन्तित बनेका छन्। अध्यक्ष रानाले धानबालीमा भइरहेको क्षतिप्रति समेत चिन्ता व्यक्त गर्दै किसानलाई सम्भव भएसम्म सावधानी अपनाउन आग्रह गरेका छन्।
यसैबीच, चौधर नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिका, वडा कार्यालय तथा स्थानीय विपद् व्यवस्थापन समितिले पूर्वसावधानीका काम अघि बढाएका छन्। शुक्रबार गाउँपालिका कार्यालय, वडा नं. ५ कार्यालय, वडा तहको विपद् व्यवस्थापन समिति तथा स्थानीयवासीको समन्वयमा चौधर नदीको तटबन्धमा माटो भर्ने काम गरिएको थियो।






















Discussion about this post