कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा आगामी कार्तिक ९ देखि २० गतेसम्म चौथो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला-२०८३ आयोजना हुने भएको छ। बेलौरी उद्योग वाणिज्य संघले बेलौरीको खुलामञ्चमा आयोजना गर्न लागेको महोत्सवको तयारी तीव्र बनाएको जनाएको छ।
महोत्सवबारे जानकारी दिन बिहीबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रकाशराज पन्तले स्थानीय कृषि, उद्योग, व्यापार, पर्यटन तथा कला-संस्कृतिको प्रवर्द्धन गर्दै बेलौरीको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो।
अध्यक्ष पन्तका अनुसार महोत्सवको प्रमुख उद्देश्य स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै बेलौरी छोटी भन्सारलाई मूल भन्सारका रूपमा विकास तथा प्रवर्द्धन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु पनि हो। छोटी भन्सारको स्तरोन्नति र प्रभावकारी सञ्चालनले सीमावर्ती व्यापार विस्तार गर्न तथा स्थानीय व्यवसायलाई थप चलायमान बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
महोत्सवमा कृषि तथा औद्योगिक उत्पादनका प्रदर्शनी एवं बिक्री कक्ष, व्यापारिक स्टल, स्थानीय उत्पादन, हस्तकलाका सामग्री, खाद्यान्न तथा स्थानीय परिकारका स्टल राखिनेछन्। कृषक, उद्यमी तथा व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार र बिक्रीका लागि अवसर उपलब्ध गराउने आयोजकको तयारी छ। यसले स्थानीय उत्पादनको बजारीकरण र व्यापार–व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, बालबालिकाका लागि बाल उद्यान तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय र राष्ट्रिय कलाकारका सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।
महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघका महासचिव रामेश्वर न्यौपानेले जानकारी दिनुभयो। महोत्सवका कार्यक्रम दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन्।
आयोजकका अनुसार महोत्सव सञ्चालनमा करिब ३५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ४० लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको छ। महोत्सवमा सहभागी दर्शक तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै सीसी क्यामेरा जडान, सुरक्षा गार्ड परिचालन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिनेछ।
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष हिरासिंह विष्ट, पूर्वअध्यक्षद्वय आत्माराम दाहाल र टेकबहादुर साउद, कार्यसमिति सदस्य तारासिंह विष्टलगायत पदाधिकारी तथा स्थानीय सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रममा सहभागी वक्ताहरूले महोत्सवलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
आयोजकले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय कृषि उत्पादन, उद्योग, व्यापार, पर्यटन तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने साझा अवसरका रूपमा अघि बढाउने जनाएको छ। महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीयवासी, कृषक, उद्योगी, व्यवसायी, राजनीतिक दल, संघसंस्था तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि संघले आग्रह गरेको छ।





















Discussion about this post