धनगढी,
जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए।
धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएपछि तनाव भएको थियो। विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए, भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरुले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका हुन्।
धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतना साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउँदको शव सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।
जिल्ला प्रशासन कार्यालय कैलालीको आदेशमा भनिएको छ,–‘जिल्ला बैतडी डिलासैनी गाउँपालिका वडा नं. ६ बस्ने गणेश साउदकी छोरी वर्ष १५ की चेतना साउँद हाल यस जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित पञ्चोदय मा.वि. हसनपुर कक्षा ८ मा अध्ययनरत छात्राको मिति २०७९/०८/१५ गते विहान १०ः१५ बजे विद्यालय जाने क्रममा धनगढी उपमहानगरपालिका वडा नं. ५ स्थित पिपल चौतारा दोवाटोमा सडक निर्माणको क्रममा ग्रेडरबाट दुर्घटना हुँदा मृत्यु भई उक्त घटना पश्चात् सृजना भएको परिस्थितिलाई मध्यनजर गर्दै हुन सक्ने अराजक गतिविधिहरुलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरुको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम यस जिल्लाको तपसिलका क्षेत्र र समयमा ५ जनाभन्दा बढी व्यक्तिहरु आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको मिति २०७९।०८।१५ गतेको निर्णयानुसार निषेध गरिएको छ।
यस आदेशको उल्लंघन गरेमा कानून वमोजिम कारवाही हुने व्यहोरा सम्वन्धित सवै सर्वसाधारणको जानकारीका लागि सूचित गरिएको छ ।’
Discussion about this post