धनगढीः

धनगढी उपमहानगरपालिकाले लिएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा विभिन्न ६ विद्यालयका ३ ३ विद्यार्थी मात्रै पास भएका छन्। विगतका वर्षभन्दा व्यवस्थित हिसावले परीक्षा सञ्चालन गरेको उपमहानगरमा पास हुने विद्यार्थीको प्रतिशत भने निकै कम छ।
शैक्षिक सत्र २०७९ का लागि ४ हजार ६ सय ३८ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकामा केबल एक हजार ५ सय ३ विद्यार्थी मात्र पास भएका छन। जुन कूल सहभागीको ३२ दशमलव ४१ प्रतिशत मात्रै हो। धनगढीमा ३ ३ जना विद्यार्थी पास हुने ६ वटा विद्यालय मध्ये ५ वटा सामुदायिक हुन् भने एउटा नीजि विद्यालयको हो। सामुदायिक विद्यालयमा धनगढी–६ रघुनगरको वासुदेवी माध्यमिक विद्यालयका ३ विद्यार्थी पास भएका छन्।
यो विद्यालयबाट ६३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। भने धनगढी–१६ रामपुरको शिव माध्यमिक विद्यालयका २३ जना परीक्षार्थीमा २० जना ननग्रेड भएका छन्। धनगढी–१४ सी गाउँको सर्वोदय माध्यमिक विद्यालयका ४० जना परीक्षार्थीमा मध्य ३७ जना अनुत्तीर्ण भएका छन् भने ‘बी’ गाउँको पञ्चोदय माध्यमिक विद्यालय ३० विद्यार्थीहरुमा २७ अनुत्तीर्ण भएका छन्। धनगढी–१२ ‘सी’ गाउँको शारदा माध्यमिक विद्यालयका ४३ परीक्षार्थीमा ४० जना ननग्रेड भएका छन्।
निजी विद्यालयतर्फ धनगढी–१८ फूलबारीको कैलाश मालिका बोर्डिङ स्कुलका ३ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। त्यस्तै धनगढीका दुई विद्यालयमा ४ ४ जना विद्यार्थी मात्रै पास भएका छन्। कैलाली गाउँको जनता राष्ट्रिय माध्यमिक विद्यालय र हसनपुरको व्राइट वे पब्लिक स्कुलका चार जना मात्रै पास भएका छन्। जनता राष्ट्रिय माध्यमिक विद्यालयबाट ३४ र व्राइट वे पब्लिकबाट १६ जना परीक्षामा सहभागी भएका थिए।

Discussion about this post