माधव पौडेल,बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास हस्तान्तरण गरिएको छ। हयाबिट्याट नेपाल, निड्स नेपाल, र बेलौरी नगरपालिकाको त्रिपक्षीय साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत वडा नम्बर ९ मा १० घरपरिवार र वडा नम्बर १० मा ५ घरपरिवारलाई नयाँ घर प्रदान गरिएको हो ।
बिहानको उज्यालोमा जब नयाँ घरको चाबी घरधनीलाई हस्तान्तरण गरियो, लाभग्राहीहरूको मुहारमा उल्लास देख्न सकिन्थ्यो। हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न भयो, जसमा नगरप्रमुख पोतीलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, निड्स नेपालका अध्यक्ष दुर्गा खरेल, हयाबिट्याट नेपालका प्रतिनिधि राममणी चौधरी, निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी लगायत वडा सदस्य, कार्यपालिका सदस्य र स्थानीय समुदायको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले यो अभियानलाई निरन्तरता दिइने बताउँदै आगामी वर्ष वडा नम्बर ५, ६, ७, र ८ मा थप २५ सुरक्षित आवास निर्माण गरिने जानकारी दिनुभयो । निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले बेलौरी नगरपालिकाले विकास निर्माणमा देखाएको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।
१० महिनाको अथक परिश्रमबाट सम्पन्न यस परियोजनामा बेलौरी नगरपालिकाले ४५ लाख, हयाबिट्याट नेपाल र निड्स नेपालले ३० लाख तथा स्थानीय समुदायले २२ लाख ५० हजार बराबरको जनश्रमदान गरेका थिए । सुरक्षित आवास मात्र नभई, स्थानीय बासिन्दालाई वित्तीय साक्षरता, स्वच्छ खानेपानी, सरसफाइ तथा विपद् व्यवस्थापन सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो । साथै, समुदायमा हरियाली प्रवद्र्धन गर्न फलफूलका विरुवा, डाले घाँस र बाँसका बिरुवा वितरण गरिएको थियो ।
सुरक्षित आवास कार्यक्रमको प्रभावकारी सञ्चालनमा कार्यक्रम संयोजक सरस्वती पुरीले नेतृत्व प्रदान गर्नुभएको थियो। यो कार्यक्रमले विपन्न परिवारहरूको जीवनमा उज्यालो भरेको छ र बेलौरी नगरपालिका समृद्धि तर्फ एक कदम अघि बढेको छ ।























Discussion about this post