कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सञ्चालन गर्दै आएको ‘नागरिकसँग मेयर’ कार्यक्रम वर्षेनि प्रभावकारी बन्दै गएको छ। नगर प्रमुख हेमराज ओझाको नेतृत्वमा तीन वर्षदेखि निरन्तर रूपमा सञ्चालित यस कार्यक्रमले नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पु-याउँदै उल्लेखनीय सफलता हासिल गरेको छ।
स्वास्थ्य सेवाको पहुँचविहीन समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको यस अभियानअन्तर्गत अहिले नगरका ९ वटै वडामा स्वास्थ्यकर्मीको टोलीले घरघरमै पुगेर चेकजाँच, परामर्श, निःशुल्क औषधि वितरणदेखि आवश्यक परे प्राथमिक उपचार तथा एम्बुलेन्स सेवा समेत दिइरहेको छ।
पालिका–४ पवित्राकी करर्नी चौधरी भन्छिन्, “घरमै स्वास्थ्यकर्मी आएर चेकजाँच गरेको पहिलो पटक हो, यसअघि यस्तो सेवा पाइएन। यदि यस्तै सेवा अन्य पालिकामा पनि पुग्यो भने नागरिकको जीवन सहज बन्छ।”
त्यस्तै, पालिका–५ गुलरियाका नन्दराज भट्टले भने, “हामी बिरामी भएपछि अस्पताल जानुपर्ने झन्झट हुन्थ्यो। अब स्वास्थ्यकर्मी घरमै आउन थालेपछि धेरै राहत महसुस भएको छ।”
नगरका स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टका अनुसार यस आर्थिक वर्षमा मात्रै करिब ३२ हजार ६ सय ५ नागरिकले स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये १९ हजार ६९९ महिला र १२ हजार ९०६ पुरुष रहेका छन्। अघिल्लो वर्षको तुलनामा यसपालि सेवा लिने नागरिकको संख्या दोब्बर भएको छ।
उनका अनुसार १२ स्वास्थ्यकर्मीको टोलीले वडावार घरघरमै पुगेर सुगर, ब्लडप्रेसर, पिसाबजाँचलगायत परीक्षण गरी सामान्य अवस्थामा औषधि दिइएको छ भने जटिल अवस्थाका बिरामीलाई स्वास्थ्य केन्द्र वा बाहिरी अस्पतालमा पठाइएको छ।
स्वास्थ्य सेवा अन्तर्गत यस अभियानमा १२ जना क्षयरोग र १ जना कुष्ठ रोगी पनि पहिचान भएका छन्। उनीहरूको उपचारका लागि विशेष योजना बनाइएको छ।
नगर प्रमुख हेमराज ओझाका अनुसार संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो भन्ने भावना अनुसार यो अभियान ल्याइएको हो। उनले भने, “यो मेरो चुनावी एजेन्डा पनि थियो। अझै पनि हजारौँ नागरिक स्वास्थ्य सेवाको पहुँचबाहिर छन्। त्यसैले हामी घरघरमै पुगेर प्राथमिक परीक्षण तथा रोग पहिचान गरिरहेका छौँ।”
नगरमा २४ घण्टा निःशुल्क सेवा दिने व्यवस्था मिलाइएको जानकारी दिँदै मेयर ओझाले अपाङ्गता, गर्भवती, सुत्केरी, वृद्धवृद्धालगायत विशेष समूहलाई उच्च प्राथमिकताका साथ सेवा दिइएको बताए।
नगर उपप्रमुख द्रोपती राना र वडा नं. ५ का अध्यक्ष टेकबहादुर पाण्डेयले समेत कार्यक्रममा जनताको सक्रिय सहभागिता र सन्तुष्टि जनाउँदै भविष्यमा पनि अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
‘नागरिकसँग मेयर’ कार्यक्रम कृष्णपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा क्रियाशील नमूना बन्न सफल भएको छ। घरदैलोमै पुग्ने यस अभियानले न केवल नागरिकको स्वास्थ्यमा सुधार ल्याएको छ, तर स्थानीय सरकारप्रति जनविश्वास समेत मजबुत बनाएको छ।





















Discussion about this post