काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफू अझै पनि एमालेमै आबद्ध रहेको स्पष्ट पारेकी छन्। पार्टीको सदस्यता नवीकरण भइसकेको बताउँदै उनले आफ्नो सदस्यतालाई कसैले खारेज गर्न नसक्ने दाबी गरेकी हुन्।
शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, “म अहिले पनि एमालेमा आबद्ध छु। मेरो सदस्यता कसैले खान सक्दैन। पार्टीमा मेरो योगदानलाई वेवास्ता गर्दै गरिएको निर्णयले मलाई दुःखी बनाएको छ।”
एमाले केन्द्रीय कमिटीले भण्डारीको सदस्यता नवीकरण नभएको जनाएको थियो। तर भण्डारीले भने २०८२ साल असार १४ गते, जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको दाबी गरिन्।
उनले भनिन्, “राष्ट्रपतिको कार्यकाल पूरा गरी म सामान्य नागरिकको हैसियतमा फर्किएपछि एमालेमै पुनः सक्रिय हुने निर्णय गरेकी हुँ। त्यसअनुसार सदस्यता नवीकरण गरेकी हुँ। मलाई जननेता मदन भण्डारीले शपथ खुवाएका थिए, त्यो मेरो जीवनको गौरव हो।”
एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता निष्क्रिय भएको बताइएको थियो। तर पूर्वराष्ट्रपतिले आफू पार्टीको विधि, प्रक्रिया र भावना विपरीत निष्कासित हुन नसक्ने स्पष्ट गरिन्। उनले भावुक हुँदै भनिन्, “यो पार्टी बनाउन हजारौं कार्यकर्ताको रगत, पसिना र बलिदान छ। यस्तो पार्टीमा मलाई नदेख्ने प्रयास आफैंमा दुर्भाग्यपूर्ण हो।”
उनले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको उल्लेख गर्दै आफूमाथि गरिएको निर्णय आवेगमा आधारित र अपरिपक्व भएको पनि बताइन्।
भण्डारीले भनिन्, “म पदको आशक्तिमा छैन, राष्ट्रपतिको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेको छु। अब बाँकी जीवन राजनीतिमा लगाएर देश र जनताको सेवा गर्न चाहन्छु। एमालेमै रही जबजको सिद्धान्त अनुसार अघि बढ्ने मेरो प्रतिबद्धता छ।” उनले पार्टी निर्माण, एकता र जबजको संरक्षणका निम्ति सम्पूर्ण एमाले पंक्तिलाई निष्ठा र धैर्यका साथ अघि बढ्न आग्रह गरिन्।
उनले पत्रकार सम्मेलनको अन्त्यमा भनिन् “म विचलित हुँदिन, सत्यसँग छु। पार्टीप्रतिको मेरो योगदानलाई कुनै निर्णयले मेटाउन सक्दैन,”। पूर्वराष्ट्रपति भण्डारीको यो प्रष्टिकरणपछि एमालेभित्रको आन्तरिक विवाद झन् चुलिने सम्भावना देखिएको छ।























Discussion about this post