पुनःस्थापनाको मागसहित कञ्चनपुरका आरक्षपीडित आमरण अनसनमा

विकास महता/कञ्चनपुर – २४ वर्षदेखि पुनःस्थापनाको प्रतिक्षामा रहेका कञ्चनपुरका आरक्षपीडित बिहीबारदेखि जिल्लाका तीन स्थानमा आमरण अनसनमा बसेका छन्।
जिल्ला सदरमुकाम महेन्द्रनगर, कृष्णपुरको वाणी र लालझाडीको ढक्का शिविरमा एकैपटक अनसन सुरू गरिएको हो।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाका अनुसार, सरकारले पटक–पटक आश्वासन दिए पनि समस्या समाधान नभएकाले ‘मृत्यु कि मुक्ति’को अडानसहित यो कदम चालिएको हो। यसअघि काठमाडौंमा १९ दिनसम्म आमरण अनसन बसेर वनमन्त्री ऐनबहादुर शाहीको पहल गर्ने आश्वासनमा अनसन तोडिएको थियो। तर, महिनौं बित्दा पनि पहल नगरेकाले फेरि संघर्षमा उत्रिएको उनले बताए।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका सहसचिव प्रकाशदत्त भट्ट र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले बुधबार अनसन स्थल पुगेर वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन्। सहसचिव भट्टले संविधानको धारा ३७ अनुसार प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गर्न राज्य असफल भएको टिप्पणी गरे।

रोकायाले भने, “सरकारले पटक–पटक सम्झौता गरेर तोडेकाले विश्वास छैन। न्याय नपाएसम्म संघर्ष जारी रहन्छ।” २०५८ सालमा अन्तिम पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित यी परिवार हालसम्म खुला आकाशमुनि बस्न बाध्य छन्।

यसैबीच, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पनि आन्दोलनरत आरक्षपीडितको माग सम्बोधन गर्न सरकारलाई दबाब दिएको छ। कञ्चनपुर इन्चार्ज रामबहादुर महरा ‘चिन्तक’ र सचिव विष्णूराम दमाई ‘शीतल’द्वारा जारी विज्ञप्तीमा ३३ आयोग गठन हुँदाहुँदै पनि समस्या ज्यूँका त्यूँ रहनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै सरकार जिम्मेवार नदेखिए कठोर संघर्ष गर्ने चेतावनी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित