कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको दाबी गर्नुभएको छ ।
आइतबार कञ्चनपुरमा आयोजित एमालेको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरू दललाई समेत डो¥याउने काम एमालेले गर्दै आएको स्पष्ट पार्नुभयो । “अरूले के गर्छन् भन्दा पनि एमालेले के गर्छ भन्ने नै लोकतन्त्रको लागि मानक बन्नेछ,” पोखरेलले भन्नुभयो ।
पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन नहुने विषयमा पार्टीले सोचविचार गरेर निर्णय लिएको बताउँदै उहाँले राष्ट्रपति र सभामुखबीचको भूमिकामा स्पष्ट भिन्नता रहेको उल्लेख गर्नुभयो ।
महासचिव पोखरेलले अवसरवादलाई पार्टीको लागि घातक भन्दै एमालेले घोषणा गरेको मिसन २०८४ सफल पार्न अवसरवाद परास्त गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “अनुशासन र एकता बिना कुनै पनि पार्टी बलियो बन्न सक्दैन । अवसरवाद र अराजकता पार्टी निर्माणका प्रमुख चुनौती हुन्,” उहाँले भन्नुभयो ।
भीम रावललाई पार्टीमा राख्न पर्याप्त प्रयास भए पनि अन्ततः नेतृत्वविरुद्ध आक्षेप लगाउनु गलत भएको उहाँको टिप्पणी थियो । “व्यक्तिको टकरावभन्दा पार्टीको सामूहिकता नै सर्वोपरि हुन्छ, अराजकता कहिल्यै पार्टीको हितमा हुँदैन,” पोखरेलले स्पष्ट पार्नुभयो ।
सामाजिक सञ्जालमा मात्र लोकप्रिय भई देश र पार्टी चलाउन नसक्ने बताउँदै उहाँले रास्वपाको विषयमा टिप्पणी गर्दै भने, “एमालेले उनीहरूको माग धेरै हदसम्म सम्बोधन गर्यो, तर अपराध सार्वजनिक भएपछि प्रतिशोधको आरोप लगाउनु सत्य होइन ।”
नेपालमा एक व्यक्तिले दुईवटा विवाह गर्न नपाइने, दुईवटा नागरिकता लिन नपाइने, सहकारी ठगी गर्न नपाइने जस्ता सामान्य कानुन समेत नबुझ्नेहरूलाई ‘जान्ने’ भन्न सकिँदैन भन्दै उहाँले प्रश्न उठाउनुभयो ।
देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान एमाले नेतृत्व अपरिहार्य रहेको दाबी गर्दै महासचिव पोखरेलले भने, “एमालेसँग स्पष्ट दृष्टि, दूरदर्शी योजना र विश्वका जुनसुकै नेतासँग पनि आँखा जुधाएर कुरा गर्ने अध्यक्ष केपी ओलीजस्ता नेता छन् । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई केवल नारामात्र नभई राष्ट्रिय गन्तव्य बनाएर अघि बढेको छ ।”





















Discussion about this post