डडेल्धुरामा जिप ५०० मिटर तल खस्दा चार जनाको मृत्यु, सनाखत भएका सबै नवदुर्गा–५ का

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान जिप दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल खस्दा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको ज्यान गएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा १८ वर्षीया सुशिला विक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । तीमध्ये सुशिला विक र चालक रामबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएको छ । बिहान करिब सवा ९ बजे भएको दुर्घटनाको कारण भने अझै स्पष्ट नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित