दोधारा चाँदनी – लगातारको वर्षासँगै उर्लिएको जोगबुढा नदीले दोधारा चाँदनी नगरपालिका–३ अन्तर्गतको पटरा खल्ला बस्ती डुबाएको छ। बाढी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीको तीव्र बहाव सिधै बस्तीमा पसेको हो।
स्थानीयवासीका अनुसार बाढी नियन्त्रणका लागि राखिएको हेम्पाइपबाट उल्टै पानी भित्रिन थालेपछि केही क्षणमै तटबन्ध भत्किएको थियो। तटबन्ध भत्किएलगत्तै पानीको वेग अझ तीव्र बनेपछि बस्ती डुबानमा पर्दै गयो। अकस्मात् बाढी पसेपछि स्थानीयहरूले बाख्रा, भैंसी, बालबालिका र आवश्यक घरायसी सामान समेटेर हतारहतार सुरक्षित स्थानतर्फ लाग्नुपरेको थियो।
डुबानबाट ज्यान जोगाएका धेरैजसो परिवार अहिले जमुना आधारभूत विद्यालयमा अस्थायी रूपमा बसिरहेका छन्। विद्यालय भवनमा करिब एक दर्जनभन्दा बढी परिवारलाई आश्रय दिइएको छ। तर, नदीको बहाव अझै उच्च भएकाले स्थानीयवासी त्रासमा रहेका छन्।
उद्धार तथा राहतका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको जनाइएको छ। यद्यपि, बारम्बार डुबान र क्षतिको सामना गर्दै आएका स्थानीयहरूले स्थायी समाधानका लागि नदी नियन्त्रणमा तत्काल ध्यान दिन सरकारसँग माग गरेका छन्।





















Discussion about this post