दोधारा चाँदनी । अविरल वर्षापछि जोगबुढा नदीमा आएको बाढीले सोमबार बेलुकी दोधारा चाँदनी नगरपालिका–३ अन्तर्गत पटरा खल्ला लगायतका बस्ती डुबानमा परे। बाढी नियन्त्रणका लागि निर्माण गरिएको अस्थायी तटबन्ध भत्किएपछि नदीको तीव्र बहाव सिधै बस्तीमा पस्दा ठूलो क्षति भएको हो।
यसैबीच, पीडित बस्तीका स्थानीयहरू आज बिहानैदेखि र्यालीसहित नगरपालिका कार्यालय पुगेका छन्। “हामीलाई राहत होइन, स्थायी बाँध चाहिन्छ” भन्ने नारासहित उनीहरूले नगरपालिका घेराउ गरेका हुन्।
बाढी पीडितहरूले स्थानीय, प्रदेश र संघीय सरकारलाई व्यंग्य गर्दै राहत सामग्रीलाई ‘कोसेली’का रूपमा प्रदर्शन गर्दै कोषेली स्वरुप सरकारहरुलाई राहत ल्याएका छन् । उनका अनुसार वर्षेनी राहतमा निर्भर रहनुभन्दा स्थायी तटबन्ध निर्माण नै दीर्घकालीन समाधान हो।
आन्दोलित स्थानीयहरूले उपमेयर गंगादेवी जोशीलाई आन्दोलन सुरु हुनासाथ स्थलबाट फर्किएको आरोप लगाएका छन्। आन्दोलनकारीहरूका अनुसार, “जनप्रतिनिधि आएर सुनोस्, कर्मचारीको भाषण हाम्रो लागि पर्याप्त छैन” भन्ने मागसहित उनीहरू नगरपालिका परिसरभित्रै धर्नामा बसेका छन्।
प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले आन्दोलित पीडितलाई सम्झाउने प्रयास गरेका थिए। तर आन्दोलनकारीहरूले आफ्ना माग सुन्न निर्वाचित जनप्रतिनिधि नै आउनुपर्ने अडान लिएका छन्।
जोगबुढा नदीले हरेक वर्ष बस्ती डुबाउने गरेको गुनासो गर्दै स्थानीयले तत्काल नदी नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने जोड दिएका छन्। “बारम्बार डुबान, बारम्बार राहत—यसरी हाम्रो जीवन चल्दैन। स्थायी तटबन्ध निर्माण गर्नुपर्छ,” एक आन्दोलनकारीले बताए।
यसैबीच, नगरपालिका घेराउ र धर्ना अझै जारी छ। आन्दोलनकारीहरू जनप्रतिनिधिको उपस्थितिको प्रतीक्षामा रहेका छन्।





















Discussion about this post