पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तर्गत प्रहरी चौकी डोके बजारमा नयाँ ट्राफिक प्रहरी हवलदार दीपक बिष्टको पदस्थापनासँगै ट्राफिक चेकिङमा कडाइ गरिएको छ। बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राख्दै सवारी व्यवस्थापनमा सुधार ल्याउन प्रहरीले चेकिङलाई प्राथमिकतामा राखेको हो।
हवलदार बिष्टले जिम्मेवारी सम्हालेपछि दैनिक रुपमा सवारी चेकिङलाई सशक्त रूपमा अघि बढाइएको छ। विशेषगरी चालकको इजाजतपत्र, गाडीको प्राविधिक अवस्था, सिटबेल्ट प्रयोग, हेलमेटको अनिवार्यता जस्ता विषयलाई कडाइका साथ निरीक्षण भइरहेको प्रहरीले जनाएको छ।
सवारी दुर्घटना न्युनिकरणका लागि यी गतिविधि अपरिहार्य रहेको जनाउँदै प्रहरी स्रोतले भने, “चालकलाई सचेत गराउने र आवश्यक नियम पालना गर्न बाध्य पार्ने हो भने दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिन्छ।”
स्थानीयवासीले पनि ट्राफिक प्रहरीको सक्रियतालाई प्रशंसा गरेका छन्। उनीहरूका अनुसार पछिल्लो समयमा ट्राफिक प्रहरीको कठोरता बढेसँगै सडकमा लापरबाही गर्ने चालकहरू सचेत हुन थालेका छन्।
सवारी दुर्घटना नियन्त्रणमा प्रहरीको यो सक्रियताले स्थानीयमा ‘सुरक्षित सडक र जिम्मेवार चालक’ को अभियानलाई थप बल पुर्याएको विश्वास गरिएको छ।


















Discussion about this post