काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध भइरहेको जेन जीको प्रदर्शन आज झनै उग्र बनेको छ । प्रदर्शन कभर गर्ने क्रममा कान्तिपुर, नयाँ पत्रिका र नेपाल प्रेसका पत्रकार रबरको गोली लागी घाइते भएका छन् ।
नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नेपाल प्रेसका उमेश कार्की रबरको गोली लागी घाइते भएका हुन् । उनीहरूलाई तत्कालै उपचारका लागि सिभिल अस्पताल पुर्याइएको छ ।
बानेश्वरस्थित संसद भवनतर्फ उत्रिएका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहरा, अश्रुग्यास र अन्ततः रबरको गोली प्रहार गरेको थियो । त्यस क्रममा ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएको पुष्टि भएको छ ।
सिभिल अस्पतालको इमरजेन्सीमा मात्रै ५० बढी घाइते भर्ना गरिएको जनाइएका छन् । अस्पताल परिसर आन्दोलनकारी, आफन्त र सञ्चारकर्मीले भरिभराउ भएको छ ।
सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता र भ्रष्टाचारविरुद्धको मागसहित जेन जीले थालेको प्रदर्शन राजधानीमै होइन, देशव्यापी आक्रोशको रुप लिन थालेको देखिएको छ । प्रहरीको बल प्रयोग र गोली प्रहारपछि आन्दोलनकारी झनै आक्रोशित भएका छन् ।
मानवअधिकारकर्मी र पत्रकार महासंघले शान्तिपूर्ण प्रदर्शनमाथि गोली चलाउनु लोकतन्त्रविरुद्धको कदम भएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।





















Discussion about this post