बेलडाँडी । काठमाडौँको सडक रगतले राताम्य बनेको दृश्य, आमा–बुबाको काख च्यातिएको पीडा र साथीभाइले अंगालोमा बोकेको निर्जीव शरीर… यी सबको करुण चीत्कारले देशलाई हल्लाइदिएपछि अन्ततः सरकारले सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन बाध्य भएको छ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल पुनः सञ्चालन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
मन्त्री गुरुङले भने, “सरकारको निर्णयअनुसार सामाजिक सञ्जाल अब सञ्चालनमा आएका छन्। तर प्रधानमन्त्री ओलीको राजीनामा अहिले दिइँदैन, सडकमा बसेर मागेर सम्भव छैन।”
तर यो घोषणा पीडित परिवार र आन्दोलनमा उभिएका युवापुस्ताका लागि केबल एउटा ‘ढिलो खुलेको आँखा’ मात्रै ठहरिएको छ। उनीहरू भन्छन्, “हामी साथीहरूको रगत र बलिदानको बदलामा सामाजिक सञ्जाल मात्रै खुल्ने हो भने यो अपमान हो। अब सरकार परिवर्तनसहित अन्तरिम सरकार गठन गरेर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ।”
गत १९ भदौमा सूचना मन्त्रालयले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। त्यसयता मुलुकभर आक्रोश फैलियो। अन्ततः युवाहरूले आफ्नो अमूल्य जीवनको मूल्य चुकाएपछि मात्र सरकारलाई संवेदनशील हुन सम्झाउनु परेको छ।
युवापुस्ताले अब यो आन्दोलन रोकिँदैन, रगतको मूल्य जनताले देख्ने दिन आउँछ भन्दै सडकमा अझै दृढताका साथ उभिन घोषणा गरेका छन्।























Discussion about this post