झलारी । कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला २०८२ भोलि मंगलबार (मंसिर २५ गते) देखि सुरु हुने भएको छ।
शुक्लाफाँटा उद्योग वाणिज्य संघ, झलारीको आयोजनामा हुने यो मेला “सुदूरपश्चिम आर्थिक समृद्धि अभियान : उद्योग, कृषि, पर्यटन र संस्कृतिको पहिचान” भन्ने मूल नाराका साथ झलारीको खुला मञ्चमा सञ्चालन हुनेछ।
मूल आयोजक समितिका कार्यक्रम संयोजक धिरेन्द्रसिंह साउँदका अनुसार मेला कार्तिक २५ गतेदेखि मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ। मेलाको भव्य आयोजना गर्न करिब ३९ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाउन विभिन्न उपसमिति गठन गरिएका छन्। मेलामा १ सयभन्दा बढी स्टलहरू रहनेछन्, जसमा कृषि, उद्योग, पर्यटन र स्थानीय उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्।
मेलाको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, कला–संस्कृतिको संरक्षण र आर्थिक क्रियाकलापको सशक्तीकरण रहेको समितिले जनाएको छ।
प्रवेश टिकट सामान्य दर्शकका लागि १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र असक्त व्यक्तिहरूका लागि ४० प्रतिशत छुट दिइनेछ। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूका शानदार प्रस्तुति हुनेछन्, जसले वातावरणलाई झनै रमाइलो र उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
मेलाको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले गर्ने तय भएको छ।
समितिले आज पत्रकार सम्मेलनमार्फत मेलाको विस्तृत जानकारी सार्वजनिक गर्दै मेलाबाट संकलित रकमको केही अंश व्यापार प्रवर्द्धन कोष स्थापनामा खर्च गर्ने योजना समेत सार्वजनिक गरेको छ।





















Discussion about this post