बेलडाँडी । बेलडाँडी गाउँपालिकाको विकास यात्रामा अर्को ऐतिहासिक अध्याय थपिएको छ। नेपाल विद्युत प्राधिकरणले बेलडाँडी-२ मा निर्माण हुने ३३/११ केभी, ६/८ एमभिए क्षमताको विद्युत सबस्टेसन का लागि करिब १९ करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरेसँगै बेलडाँडीवासीको दशकौँदेखिको सपना साकार हुने चरणमा पुगेको छ।
यो उपलब्धि केवल एउटा सबस्टेसन निर्माणको प्रक्रिया मात्र होइन, बेलडाँडीको समग्र विकासप्रतिको दृढ संकल्प, निरन्तर संघर्ष र नेतृत्व क्षमताको प्रतिफल पनि हो। यस सफलताका केन्द्रमा छन् बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना।
सबस्टेसन बेलडाँडीमै निर्माण हुनुपर्छ भन्ने अठोटका साथ अध्यक्ष रानाले कहिले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय, कहिले क्षेत्रीय कार्यालय धाउँदै फाइल बोकेर निरन्तर पहल गरे। अनेकौं प्रशासनिक जटिलता, प्रक्रियागत ढिलाइ र आफ्नै वरिपरिबाट सिर्जना भएका बाधा-अवरोधका बाबजुद उनी आफ्नो अडानबाट पछि हटेनन्। अन्ततः उनको त्यो अथक प्रयासले आज सार्थकता पाएको छ।
अध्यक्ष रानाले भनेका छन्, “यो मेरो व्यक्तिगत सफलता होइन, सम्पूर्ण बेलडाँडीवासीको सफलता हो। जनताले वर्षौँदेखि भोग्दै आएको विद्युत समस्याको स्थायी समाधानका लागि मैले आफ्नो दायित्व निर्वाह गरेको हुँ। अब सानो हावाहुरी आउँदा पनि दिनौँसम्म अन्धकारमा बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ।”
बेलडाँडीमा विद्युत सबस्टेसन निर्माणको पहलसँगै अध्यक्ष रानाले विकासका अन्य महत्वपूर्ण योजनाहरूलाई पनि अगाडि बढाएका छन्। १५ शैयाको अस्पताल निर्माण प्रक्रिया, कृषकलाई टेवा पुग्ने चिस्यान केन्द्र र दुग्ध चिस्यान केन्द्र स्थापना, वडा कार्यालय तथा प्रशासकीय भवन निर्माण, आपतकालीन सेवा भवन, फराकिला सडक निर्माण, शैक्षिक सुधार अभियान लगायतका योजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएका छन्।
स्थानीयका अनुसार, यी योजनाहरू अघि बढाउँदा अध्यक्ष रानाले बाहिरी मात्र होइन, आफ्नै जनप्रतिनिधिबाट समेत अनेकौं अवरोध र आलोचनाको सामना गर्नुपरेको थियो। तर विकासको मुद्दामा उनले सम्झौता नगरी दृढ अडान कायम राखे, जसको परिणामस्वरूप आज बेलडाँडी विकास उन्मुख दिशातर्फ अघि बढिरहेको छ।
यति मात्र होइन, पालिकाभित्र हुने फजुल खर्च नियन्त्रण, नास्ता-पानी र अनावश्यक शीर्षकमा खर्च हुने लाखौँ रुपैयाँ कटौती गरेर जनताको पैसालाई जनताकै हितमा प्रयोग गर्ने नीति अवलम्बन गरिएको बताइन्छ।
स्रोतसाधनको मितव्ययी प्रयोग र विकासमुखी बजेट व्यवस्थापनका कारण धेरैको “निद्रा हराम” भएको टिप्पणी समेत स्थानीय तहमा सुनिन थालेको छ।
वर्षौँदेखि सामान्य हावाहुरी र वर्षाका कारण पटक-पटक विद्युत अवरुद्ध हुने, कम भोल्टेजको समस्या झेल्नुपर्ने तथा उद्योग-व्यवसाय र जनजीवन प्रभावित हुने अवस्था अब अन्त्य हुने अपेक्षा गरिएको छ। सबस्टेसन सञ्चालनमा आएपछि बेलडाँडी गाउँपालिकाभरिका विद्युत सम्बन्धी अधिकांश समस्याको स्थायी समाधान हुने विश्वास गरिएको छ।
आजको यो उपलब्धिले एउटा सन्देश दिएको छ, विकासका लागि इच्छाशक्ति, निरन्तरता र जनताप्रतिको प्रतिबद्धता भए असम्भव जस्तो देखिने सपना पनि पूरा गर्न सकिन्छ।
बेलडाँडी अब केवल उज्यालो बत्तीले मात्र झिलिमिली हुने छैन, विकासको उज्यालोले पनि चम्किनेछ। र, यो यात्रामा अध्यक्ष हरिशचन्द्र रानाको संघर्ष, दृढता र नेतृत्वलाई बेलडाँडीवासीले लामो समयसम्म स्मरण गरिरहनेछन्।
























Discussion about this post