बेलडाँडी । सरकारले देशभरका ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप प्रदान गर्ने तयारी गरेको छ । यसै क्रममा बेलडाँडी गाउँपालिकाले पनि आगामी मंगलबार माघ २७ गतेदेखि फाल्गुन १ गतेसम्म एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरविन्द कुमार शाहीका अनुसार कक्षा ६ मा अध्ययनरत तथा १० वर्ष पूरा गरेका बालिकालाई लक्षित गरी खोप कार्यक्रम अघि बढाइएको हो । उहाँका अनुसार यसअघि अभियानका रूपमा सञ्चालन हुँदै आएको एचपीभी खोप अहिले नियमित खोप कार्यक्रममा समावेश गरिएको छ ।
“१० वर्ष पूरा भएका र कक्षा ६ मा अध्ययनरत सबै बालिकालाई एचपीभी खोप प्रदान गरिन्छ,” शाहीले भन्नुभयो । उहाँले विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप वितरण प्रक्रिया सहज र प्रभावकारी बनाइने जानकारी पनि दिनुभयो ।
पालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरूसँग आयोजित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पक्ष गम्भीर भएर लाग्न निर्देशन दिनुभयो । उहाँले उमेर पुगेका र कक्षा ६ मा अध्ययनरत कुनै पनि बालिका खोपबाट वञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणहरूमध्ये पाठेघरको मुखको क्यान्सर एक हो । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) संक्रमणका कारण यो क्यान्सर हुने गर्दछ । एचपीभी भाइरस छालाको सम्पर्कबाट सजिलै सर्ने भएकाले यसको जोखिम उच्च मानिन्छ ।
एचपीभीका २०० भन्दा बढी प्रकारमध्ये १२ प्रकार क्यान्सरका लागि जिम्मेवार हुन्छन् । तीमध्ये १६ र १८ प्रकारका भाइरसबाट करिब ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर हुने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।
प्रत्येक वर्ष नेपालमा करिब २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ, जसमध्ये १ हजार ३१३ महिलाको मृत्यु हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट दुर्गन्धयुक्त पानी आउने, रगत मिसिएको पानी आउने, पेट दुख्ने, महिनावारी बन्द भइसकेपछि पनि रगत देखिने तथा यौन सम्पर्कपछि रगत देखिने जस्ता लक्षण देखा पर्छन् ।
कलिलो उमेरमा विवाह, कम उमेरमै सन्तान जन्माउने, धेरै सन्तान जन्माउने, असुरक्षित यौन सम्पर्क, धूमपान तथा मद्यपान, र यौनाङ्गको सरसफाइमा ध्यान नदिँदा एचपीभी संक्रमणको जोखिम बढ्ने गर्दछ ।
एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर मात्र होइन, गुदद्वार, घाँटी तथा जननेन्द्रियसम्बन्धी क्यान्सरबाट पनि सुरक्षा प्रदान गर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
कार्यक्रममा गाउँपालिकाभरिका विद्यालयका प्रधानाध्यापक, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।























Discussion about this post