बेलडाँडी । रानाथारु समुदायको परम्परागत नेतृत्व प्रणाली अन्तर्गत बेलडाँडी गाउँपालिका-२ चवन्नी खल्ला राना गाउँमा समाजसेवी ज्वाला राना छैटौं पटक भलमन्सामा सर्वसम्मत चयन भएका छन्। असाढी पूजा सम्पन्न भएसँगै गाउँमा आयोजित भेलाले उनलाई पुनः समुदायको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो।
रानाथारु समुदायमा असाढी पूजा पश्चात् गाउँका सबै घरपरिवारका सदस्यहरू भेला भई समुदायको नेतृत्व चयन गर्ने पुरानो परम्परा रहिआएको छ। यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि गाउँलेहरूले सर्वसम्मत रूपमा ज्वाला रानालाई भलमन्साको जिम्मेवारी सुम्पिएका हुन्।
समुदायका अगुवाहरूका अनुसार ज्वाला रानाले विगतका कार्यकालमा समुदायको एकता, सामाजिक सद्भाव, परम्परा संरक्षण तथा विकासका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुनः नेतृत्वमा चयन गरिएको हो। गाउँलेहरूले उनको इमान्दारिता, कर्मठता, निष्पक्षता र नेतृत्वदायी क्षमताप्रति विश्वास व्यक्त गर्दै समुदायको नेतृत्व पुनः उनैलाई सुम्पिएको बताएका छन्।
सर्वसम्मत चयनपछि प्रतिक्रिया दिँदै भलमन्सा ज्वाला रानाले समुदायले आफूलाई दिएको विश्वासप्रति आभार व्यक्त गरे। उनले आफू यसै भूमिको सन्तान भएकाले रानाथारु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “पहिले भलमन्साको भूमिका मुख्यतः गाउँभित्रका झैझगडा र विवाद मिलाउनेसम्म सीमित थियो। तर समय परिवर्तनसँगै समुदायका आवश्यकता पनि बदलिएका छन्। अब रानाथारु समुदायको पहिचान, भाषा, संस्कृति र अधिकार संरक्षणका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दै समुदायको हितमा कार्यक्रमहरू सञ्चालन गर्नेछौं।”
रानाथारु समुदायमा भलमन्सा केवल सामाजिक नेतृत्वको पद मात्र नभई समुदायको संस्कृति, परम्परा, सामाजिक अनुशासन र एकताको प्रतीकका रूपमा समेत लिइन्छ। गाउँका हरेक सामाजिक तथा सांस्कृतिक गतिविधिमा भलमन्साको महत्वपूर्ण भूमिका रहने गरेको छ।
समुदायका अगुवाहरूले आधुनिकताको प्रभाव बढ्दै गएका बेला रानाथारु समुदायको मौलिक पहिचान, भाषा, संस्कार र संस्कृति संरक्षणका लागि भलमन्सा संस्थाको भूमिका अझ महत्वपूर्ण बन्दै गएको बताएका छन्।
ज्वाला रानाको पुनः चयनसँगै चवन्नी खल्ला राना गाउँका स्थानीयले समुदायको एकता, विकास र पहिचान संरक्षणमा थप सक्रिय भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्।























Discussion about this post