काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछाने सँगको भेटबारे सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री मोदीले रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्दै साझा र समृद्ध भविष्य निर्माणका लागि मिलेर काम गर्ने लामिछानेको इच्छाको स्वागत गरेको बताएका छन्। उनले उक्त उद्देश्यप्रति आफू पनि पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन्।
मोदीले भारतको ‘छिमेकी पहिलो’ (Neighbourhood First) नीतिअन्तर्गत नेपाललाई प्राथमिकता प्राप्त साझेदार राष्ट्रका रूपमा लिइएको बताएका छन्। उनले नेपाल र भारतबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तत्पर रहेको पनि स्पष्ट पारेका छन्।
प्रधानमन्त्री मोदीको यो अभिव्यक्तिलाई नेपाल-भारत सम्बन्ध, आपसी सहयोग तथा क्षेत्रीय साझेदारीलाई थप मजबुत बनाउने संकेतका रूपमा हेरिएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त सन्देशले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा जगाएको छ।






















Discussion about this post